Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

विनाशकारी भूकम्पपछि म्यानमारमा घोषणा गरिएको युद्धविराम समाप्त


याङ्गुन, ९ वैशाख । गत महिनाको विनाशकारी भूकम्पपछि म्यानमारमा घोषणा गरिएको युद्धविराम मङ्गलबार समाप्त हुने क्रममा छ । यद्यपि सहायता समूहहरू र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले राहत प्रयासहरूलाई सहज बनाउन यसको विस्तारका लागि आह्वान गरेका छन् ।

सैन्य जुन्ताले सात दशमलव सात म्याग्निच्युडको भूकम्पपछि आफ्ना असङ्ख्य सशस्त्र विरोधीहरूमाथि आक्रमण गर्न रोक्ने घोषणा गरेको थियो । भूकम्पमा परी तीन हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । जुन्ताले सन् २०२१ को कू मार्फत सत्ता कब्जा गरी धेरै पक्षीय गृहयुद्ध सुरु गरेको थियो ।

द्वन्द्व अनुगमनकर्ताहरू र लडाइँ क्षेत्रका बासिन्दाहरूका अनुसार म्यानमारको मध्य भागमा सहायता वितरणलाई प्रोत्साहित गर्न घोषणा गरिएको २० दिने युद्धविरामको अवधिमा दुवै पक्षबाट लडाइँ जारी रहेको छ । युद्धविराम मध्यरातमा (१७३० जिएमटी) समाप्त हुँदैछ ।

मङ्गलबार बिहान राज्य सञ्चार माध्यमले युद्धविरामको विस्तारका बारेमा कुनै जानकारी दिएको छैन र एएफपीले जुन्ताका प्रवक्तासँग तत्काल सम्पर्क गर्न सकेको छैन ।

संयुक्त राष्ट्रसङ्घका अनुसार मार्च २८ को भूकम्पले ६० हजारभन्दा बढी मानिसलाई पाल शिविरहरूमा बस्न बाध्य पारेको छ र २० लाख मानिसलाई ‘सहायता र सुरक्षाको गम्भीर आवश्यकता’ मा धकेलेको छ ।

निरन्तर लडाइँका बावजुद मानवीय समूहहरू र क्षेत्रीय शक्तिहरूले सहायता प्रयासहरू चौथो हप्तामा प्रवेश गर्दा युद्धविरामलाई लम्ब्याउन आह्वान गरेका छन् ।

बिहीबार जुन्ता प्रमुख मिन अङ्ग ह्लाइङ्ग १० देशको आसियान ब्लकका अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग दुर्लभ पर्दापछाडिको वार्ताका लागि बैंकक प्रस्थान गरेका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ ९आसियान० को अध्यक्षता गरिरहेको मलेसियाका प्रधानमन्त्री अनवरले म्यानमारको विपक्षी ‘राष्ट्रिय एकता सरकार’ सँग पनि कुरा गरेको र उक्त समूहले भूकम्पपछि त्यस्तै युद्धविरामको वाचा गरेको बताए ।

बैठकपछि पत्रकारहरूलाई अनवरले भने, “दुवै पक्षले लडाइँको विस्तारलाई रोक्न आवश्यक सबै कुरा गर्ने सहमति जनाएका छन् ।” रासस/एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट