युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न पुटिन तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको प्रारम्भिक चरणपछि पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको सङ्केत गरेका छन् ।
सोमवार रुसी सरकारी टिभीसँग कुरा गर्दै राष्ट्रपति पुटिनले रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा हेरेको र युक्रेनका प्रतिनिधिहरूले पनि त्यस्तै महसूस गर्ने आशा गरेको बताएको बीबीसीले जनाएको छ ।
पत्रकारहरूसँग कुरा गर्दै पुटिनले नागरिक पूर्वाधारविरुद्धको आक्रमण रोक्ने विषयमा युक्रेनसँग सीधै छलफल गर्न सम्भव हुनसक्ने उल्लेख गरे ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनको टिप्पणीको प्रत्यक्ष प्रतिक्रिया नदिएको तर नागरिकको सुरक्षा सुनिश्चित गर्ने कुनै पनि वार्ताका लागि तयार रहेको बताएको खबरमा उल्लेख छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण–स्तरीय आक्रमण शुरू गरेपछिका शुरुआती हप्तादेखि दुई पक्षबीच प्रत्यक्ष वार्ता भएको छैन ।
यस हप्ताको सुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्तिवार्तामा कुनै प्रगति नभएमा अमेरिका मध्यस्थताबाट बाहिरिने धम्की दिएका थिए ।
ट्रम्पको यो धम्कीपछि अमेरिका, युरोपेली र युक्रेनी अधिकारीहरू यस हप्ता लन्डनमा भेट्ने तयारीमा छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया