Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घन्टाभित्र देश छाड्न भारतको आदेश


एजेनसी, ११ वैशाख । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ।

जम्मू–कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न भनेको हो।

४८ घन्टाको समयसिमा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ। भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ।

बैठकपछि निर्णय सुनाउँदै भारतीय विदेशमन्त्रालयका सचिव अजय मिस्रीले अब त्यस्ता भिसाबाट पाकिस्तानीहरूले भारत यात्रा गर्न नसक्ने व्यवस्था गरिएको बताएका छन्। र त्यस्ता भिसा प्राप्त पाकिस्तानीहरूलाई ४८ घन्टाभित्र भारत छाड्न भनिएको उनले बताएका छन्।

अन्य पाकिस्तानीहरूलाई मे १ अगाडि भारत छाड्न भनिएको छ।

भारत र पाकिस्तानबीच सिधा हवाइ उडान सञ्चालनमा छैन। जमिनबाट आवतजावत गर्ने एकमात्रै अटारी नाका पनि मंगलबारको बैठकले बन्द गर्ने निर्णय गरेको छ । त्यसअघि भारतमा रहेका पाकिस्तानीहरूले उक्त नाका प्रयोग गर्दै आफ्नो देश फर्कन सक्ने विदेशसचिव मिस्रीले बताएका छन्।

जमिनको नाका पनि बन्द गरेपछि भारत र पाकिस्तानबीच यातायात सिधा सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। बैठकले सन् १९६० मा भएको सिन्धु जल सम्झौता पनि निलम्बित गर्ने निर्णय गरेको छ। विदेश सचिव मिस्रीले उक्त सम्झौतामा अस्थायी निलम्बन गर्ने निर्णय भएको बताए।

‘सम्झौता तत्कालका लागि निलम्बन गर्ने निर्णय भएको छ। सिमापारि पाकिस्तानले आतंकवादलाई समर्थन नत्यागेसम्म निलम्बन जारी रहन्छ,’ मिस्रीले बैठकको निर्णय सुनाउँदै भने।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट