Techie IT
Samayabaddha
शनिबार, १३ वैशाख, २०८२

नेपालमा एमसीसी परियोजना नरोकिने


काठमाडौं, १२ वैशाख । नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज) ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो।

यद्यपि एमसीसी सम्झौता भएर काम पनि सुरू भइसकेका नेपाल, सेनेगल, मंगोलिया र आइभोरी कोस्टमा परियोजना बन्द नहुने भनिएको एमसीसीका एक कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

एमसीसीले नेपाल सहित विभिन्न २० देशहरूमा विभिन्न काम गर्दै आइरहेको छ। चार देशबाहेकका अरू मुलुकहरूमा भने परियोजना रोक्न भनिएको एमसीसीका ती कर्मचारीले बताएको भनेर रोयटर्सले लेखेको छ।

‘यो विकासका लागि व्यापार र पूर्वाधारमा केन्द्रित परियोजना हो। यो अमेरिकाको हितमा पनि छ,’ ती कर्मचारीले भनेका छन्।

एमसीसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो। उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख छ।

एमसीसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन्।

एमसीसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो।

सोही परियोजनाबाट मंगोलियामा ३५ अर्ब लगानीमा अत्यधुनिक पानी प्रशोधन प्लान्ट बन्दै छ। यसले राजधानीमा पानीको समस्या समाधान गर्ने र ५५ प्रतिशत जनसंख्या लाभान्वित हुने बताइएको छ।

त्यस्तै सेनेगलमा ५५ अर्बको लागतमा विद्युत प्रसारण लाइन परियोजना अघि बढाइएको छ। यसले सेनेगलको ग्रामीण भूभागमा विद्युतको पहुँच विस्तार गर्ने भनिएको छ। आइभोरी कोस्ट सोही परियोजना अन्तर्गत विद्यालय बनिरहेको छ।

चार वटै देशमा परियोजना अन्तर्गतका कामहरू नरोकिने रोयटर्सले जनाएको छ।

डोजले बन्द गर्ने भने पछि नेपालमा परियोजन रोकिएको/नरोकिएको बारे नेपालमा एमसीसी लागु गर्ने कम्पनी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिए)ले केही खुलाएको छैन।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट