अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीको मृत्यु

अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना अफ्रिकी आप्रवासीको मृत्यु भएको छ ।
हुथी विद्रोही नियन्त्रित उत्तर–पश्चिमी यमनमा रहेको एक हिरासत केन्द्रमा अमेरिकी आक्रमणमा अन्य ४७ जना आप्रवासी घाइते भएका सशस्त्र समूहको टीभी च्यानललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको छ ।
हुथी विद्रोहीविरुद्ध अमेरिकी सेनाले झन्डै तीन हप्तादेखि सैन्य अभियान सञ्चालन गरिरहेको छ, यसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण भएका खबरमा उल्लेख छ ।
हुथी समूहले लाल सागरमा हुने अन्तर्राष्ट्रिय व्यापारिक जल यातायात र इजरायलमाथि आक्रमण गरी क्षेत्रीय सुरक्षामा खतरा निम्त्याइरहेको अमेरिकाले बताउँदै आएको छ । अमेरिकाले स्पष्ट रूपमा इरानलाई हुथी लडाकूहरूलाई निरन्तर समर्थन गरिरहेको आरोप लगाएको छ । इरानको समर्थनविना हुथीहरूले निरन्तर आक्रमण गर्न नसक्ने केन्द्रीय कमान्डको वक्तव्यमा भनिएको छ ।
सन् २०२२ मा यूएईको अबुधाबी नजिक हुथीहरूले मिसाइल र ड्रोनबाट आक्रमण गर्दा तीन जनाको ज्यान गएको थियो । त्यसपछि हुथी र अमेरिका समर्थित गठबन्धनबीचको सङ्घर्ष अझै चर्किएको हो ।
युद्धले लामो समयदेखि यमनलाई मानवीय सङ्कटमा पारेको छ, युद्धका कारण लाखौं नागरिक खाद्य, पानी र स्वास्थ्य सेवाको अभावमा छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया