ओखलढुंगामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिए
भक्तपुर, १८ माघ । ओखलढुंगामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिएका छन्।
बिहीबार मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित खोला किनारमा ना १ ज ६४२१ नम्बरको दुर्घटनाग्रस्त फेला परेको थियो। गाडी सडकबाट १०० मिटर तल खसेको थियो।
दुर्घटनामा केपिलासगढी गाउँपालिकाका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको थियो।
दुर्घटना राति नै भएको हुनुपर्ने प्रहरीको आशंका थियो। तर बिहान स्थानीयले देखेपछि मात्रै प्रहरीलाई खबर भएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी कृष्ण खड्काका अनुसार गाडीमा चालकसहित चार जना सवार थिए। तर चालक फेला नपरेपछि खोजी सुरू भएको थियो।
डिएसपी खड्काका अनुसार चालक २२ वर्षीय अनिल पण्डित काभ्रेमा हुनुपर्ने सूचना प्रहरीले पाएको थियो।
फरार प्रतिवादीहरू खोज्न ओखलढुंगा प्रहरीको टोली पनि काठमाडौं आएको थियो। काभ्रेमा हुनसक्ने सूचनापछि उक्त टोलीले बनेपाको शीर मेमोरियल अस्पतालमा सोधीखोजी गरेको थियो। उनी त्यहाँबाट भक्तपुर इन्टरनेशनल अस्पताल आइसकेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
चालक अहिले सोही अस्पतालमा उपचाररत छन्। उनको हात, अनुहार र छातीमा चोट लागेको छ।
क्याटेगोरी : जनमञ्च
प्रतिक्रिया