हिमपातले कालिञ्चोक भगवतीको दर्शन गर्न आएका हजारौँ भक्तजनहरू अलपत्र

दोलखा, १६ फागुन । हिउँदे पानीसँगै भएको हिमपातले दोलखाको तीन हजार ८४२ मिटराइ उचाइको कालिञ्चोक भगवतीको दर्शन गर्न आएका हजारौँ भक्तजनहरू अलपत्र परेका छन् ।
हिमपात र हुरीले केबुलकार नचलेको र हिउँले पैदलसम्म जान नसकेपछि तीन हजार भक्तजनहरू अलपत्र परेका कालिञ्चोक दर्शन लिका प्रबन्धक तीलक दुलालले जानकारी दिए ।
उनका अनुसार दर्शन गर्न हरेक साताको शुक्रबार र शनिबार भिड हुने गर्दछ । गए रातिदेखि नै वर्षासँगै हिमपात र हावाहुरी समेत चलेकाले केबुलकार चल्न सकेन । पैदल जान पनि हिउँ चिप्लेर जान सकिएन । जोखिम मोलेर केही नगन्य भक्तजनले मात्र दर्शन गरे । आएकाहरू दर्शन नगरी धमाधम फर्किन लागेका छन् । बेलाबेलामा वर्षा हुने र हिमपात हुने क्रम जारी रहेको छ ।
केही दिनदेखि चिसो अत्याधिक बढेको र गए रातिको हिमपातले झन चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । सुनापाती होटल सञ्चालक विमल ओझाले भने, ‘‘बाहिर निस्कन हिमपात भइरहेको छ । बेलाबेलामा हिमपात भइरहँदा श्रद्धालु भक्तजनहरूले नदर्शन गर्न सके, न बस्न सक्ने अवस्था भएकाले आएका भक्तजनहरू धमाधम फर्कन लागेका छन् । हरेक शुक्रबार शनिबार भिड हुने र राम्रै व्यापार हुने गरेका थियो, तर यसपाली चिसोले खासै व्यापार हुन पाएन । कुरीका होटल व्यवसायीहरू खुसी हुन पाएनन् ।’’
यो वर्षाले तरकारीखेती तथा आलु खेतीलाई राम्रो भएको जानकारी दिँदै शेलुङ गाउँपालिका–८ का मोहनसिं तामाङले चिसो बढे पनि खेतीका लागि उपयुक्त भएकाले किसानहरू हर्षित भएका बताए ।
रोल्वालिङ हिमशृङखलाका गौरीशङकर हिमाललगायत र उच्च भागका शैलुङ, हनुमन्तेमा पनि हिमपात भएको छ । अझै हिमपात हुने क्रम जारी रहेको छ ।
क्याटेगोरी : जनमञ्च
प्रतिक्रिया