Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

मिथिलाञ्चलमा होली पर्व सुरु


ढल्केबर, २३ फागुन । मिथिलाञ्चलमा बिहीबारदेखि विधिवत रूपमा होली पर्व सुरु भएको छ । महाकुम्भका रूपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले महोत्तरीको कञ्चनवनमा रङअबिर खेलेसँगै मिथिलाञ्चलमा होली पर्व सुरु भएको हो ।

त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेको जनविश्वास छ । सोही आस्था अनुसार माध्यमिकी परिक्रमा अन्तर्गत सातौँ दिनमा कञ्चनवन आइपुगेका यात्रीले भगवान् रामचन्द्र र माता सीताको डोलालाई एकआपसमा रङअबिर लगाएर होली मनाएका हुन् । योसँगै परिक्रमामा सहभागी हजारौँ साधुसन्त तथा यात्रीसमेतले रङअबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व सुरु हुन्छ । यहाँ आइपुगेका परिक्रमाका यात्रीले होली खेलेपछि मिथिलाञ्चलमा होली पर्व प्रारम्भ भएको मानिन्छ र गाउँघरमा पनि रङअबिरको प्रयोग सुरु गर्ने चलन छ ।

यसै गरी होलीको आगमनसँगै मिथिलाञ्चलको गाउँ गाउँमा होलीका नाच, गान, हाँसो ठट्टा र व्यङ्ग्यात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने काम पनि सुरु हुन्छ ।

परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएका दिनमा महोत्तरीको कञ्चनवनमा नै होली पर्व मनाएको जनविश्वास छ । त्यस ठाउँको माटो रातो भएकाले सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ । मिथिलाञ्चलका साधुसन्त, महात्मा र गृहस्थजनले भगवान्ले वनवास गएका दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्छन् भने परिक्रमाकै क्रममा भगवान्ले होली पर्व खेलेको सम्झिँदै यो पर्व मनाउँदै आएका छन् ।

गत बिहीबार धनुषाको कचुरीबाट सुरु भएको परिक्रमा जनकपुरधामको हनुमानगढी, फूलहर, मठिहानी, जलेश्वर, मडई, हुँदै कञ्चनवन आइपुगेका छन् । अब यसपछि छिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाका दिन जनकपुर फर्केर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने छ ।

परिक्रमाका यात्रीलाई स्वागत तथा होलीलाई उल्लासमय बनाउन महोत्तरीको भङ्गहा नगरपालिकाले आवास, भोजन तथा होली महोत्सवको आयोजना गरेको थियो ।


क्याटेगोरी : जनमञ्च, प्रदेश खबर

प्रतिक्रिया


ताजा अपडेट