Techie IT
Samayabaddha
बिहीबार, २७ चैत्र, २०८१

सरकारले मलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार छन् : कुलमान घिसिङ


काठमाडौं, २२ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाइएका कुलमान घिसिङले नेपालबाट लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन् । कार्यकारी निर्देशकबाट हटाइएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

जनताको घरघरमा बिजुली पुर्‍याउन सक्नु नै आफ्नो कार्यकालको सफलता रहेको घिसिङले बताए । उनले भने, ‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍यौँ, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौँ, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्‍याउन सक्नु नै मेरो कार्यकालको सफलता हो ।’

पत्रकार सम्मेलनमा घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको बताए । उनले आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताए ।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ घिसिङले भने, ‘नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।’

घिसिङले कार्यकाल सकिन चार महिनामात्रै बाँकी रहेको बेला सरकारले अपमान गरेर बर्खास्त गरेको बताए । उनले अपमान गरेर बर्खास्त गरेप्रति सरकारलाई धन्यवाद दिन चाहेको बताए । घिसिङले भने, ‘ पुरस्कृत र सम्मानसहित अवकाश दिनुपर्नेमा अपमान गरेर बर्खास्त गरेकोमा सरकारलाई धन्यवाद ।’


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट