पूर्व प्रधानमन्त्रीको निवास पुग्दा

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ता लिने कुरा भयो । सन्तोष योञ्जन दाइ र मैले क्यामेरा सम्हाल्ने जिम्मा लियौं । टोखास्थित उहाँको निवास पुग्दा मेरो मानसपटलमा सोंचेको जस्तो भव्यता थिएन । न त सुरक्षाकर्मीको व्यापक तैनाथी । सामान्य घर, सामान्य साजसज्जा । कुनै तडकभडक थिएन ।
मैले आफैंलाई रोक्न सकिनँ, डा. भट्टराईसँग प्रतिक्रिया दिएँ, ‘मैले सोंचेभन्दा सामान्य लाग्यो । सुरक्षा तैनाथी पनि न्यून देखियो ।’
उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘धेरै ठूलो सुरक्षाकर्मी भएर सुरक्षित हुने होइन नि ।´ म उहाँको भनाइमा सहमत भएँ ।
हामीबीच अनौपचारिक कुराकानी चल्यो । हजुरबा ईश्वरी दाहालको सक्रियता, निस्वार्थ भावना र क्रान्तिकारी चेतनाबारे उहाँले खुलेर प्रशंसा गर्नुभयो, `झण्डै ८४ वर्षको उमेरमा पनि उहाँको सक्रियतालाई मान्नुपर्छ ।´ उहाँले आफ्ना बुबा ९६ वर्षको उमेरमा अझै सक्रिय रहेको कुरा सुनाउनुभयो ।
मसँग परिचयको क्रम सुरु भयो । उहाँले सोध्नुभयो, ‘के विषय पढ्नुभयो ?’ मैले इञ्जिनियर भएको बताएँ । ‘कुन ?’ उहाँले फेरि सोध्नुभयो । सिभिल, मैले जवाफ दिएँ । उहाँले भन्नुभयो, यसमा चौतर्फी जान मिल्छ ।
कुराकानीकै बीचमा सन्तोष दाइ र मैले क्यामरा फिट गर्यौं । अन्तर्वार्ता सुरु भयो । तर, त्यो अन्तर्वार्ताभन्दा बढी गहिरो राजनीतिक छलफलमा परिणत भयो । समय कसरी बित्यो, थाहै भएन ।
उहाँले भन्नुभयो, ‘मैले माक्र्सवादको विकास खोजिरहेको छु । किरणहरु पुरानै बाटोबाट समाजवादमा पुगिने विश्वासमा हुनुहुन्छ । तर, पछिल्लो समय प्रचण्ड सत्तादेखि सत्तामा हिंडेर यथास्थितिमा रमाइरहनु भएको छ ।’
उहाँको विचार सुन्दा लाग्यो—नेपालमा नयाँ राजनीतिक कोर्स निर्माणको सम्भावना जीवित छ । माओवादी शीर्ष नेताहरु एक ठाउँमा उभिन सक्ने सम्भावना अझै मरेको छैन । उहाँहरुले नयाँ राजनीतिक परिवेश निर्माण गर्नुभयो । उहाँहरुको तिखारिएका विचारलाई एक ठाउँमा समेटेमा विभाजित नेताहरु फेरि एकत्रित हुन सक्ने छनक पाएँ ।
यो पनि पढ्नुहोस, के माओवादी बौरिन सम्भव छ ?
क्याटेगोरी : साहित्य
प्रतिक्रिया