Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

माओवादी केन्द्रले छ वटा वडा गुमायो


स्थानीय तहको उपनिर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेकपा माओवादी केन्द्रले यसअघि जितेका छ वटा वडा गुमाएको छ ।
हेटौंडा-१२ उपनिर्वाचन: माओवादीलाई धक्का, कांग्रेसका तिवारी विजयी

हेटौंडा-१२ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गर्दै माओवादी केन्द्रलाई ठुलो झड्का दिएको छ । नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी २ हजार ६३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडामा माओवादी केन्द्र विजयी भएको थियो । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार ललितबहादुर घलानले १ हजार ३७१ मत ल्याएर जित हात पारेका थिए । यसपटक माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधान १ हजार ५६० मत ल्याए ।

यस्तै, नेकपा (एमाले) का उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोनले १७८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बलले ८३ मत ल्याए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सकिबुल खाँले जीत हासिल गरेका छन् । मतगणनामा उनले ६३१ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी उम्मेदवार आइती कुमारी यादवले ५३४ मत ल्याइन् भने कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत प्राप्त गरे ।

यसअघि २०७९ को स्थानीय चुनावमा माओवादी केन्द्रका मुकेशकुमार यादवले यस वडामा विजय प्राप्त गरेका थिए । त्यस समयमा कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत प्राप्त गरेका थिए । सकिबुल खाँ, जो पहिले जसपाबाट उम्मेदवार थिए, अहिले एमालेमा समाहित भएका छन् र यसपटक ६३१ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित भएका छन् ।

उपनिर्वाचनमा माओवादी केन्द्रका प्रत्याशीहरूलाई पराजित गर्दै नेपाली कांग्रेसले तीन वटा वडा, नेमकिपाले एक वडा र एमालले एक वडा जितेका छन् । माओवादीको पराजयले पार्टीको लोकप्रियता र प्रभावमा केही हदसम्म कमी आएको संकेत गर्दछ ।

माओवादी केन्द्रले गुमाएका चार वडामा कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ पर्छ ।

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्कबहादुर शाही १४३ मत ल्याएर विजयी भए । माओवादी केन्द्रका उम्मेदवार नैसोभा शाहीले ११५ मत प्राप्त गरे ।

जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका खम्बबहादुर सिंहले माओवादीका गोरखबहादुर नेपालीलाई १५ मतले हराए । सिंहले ३४७ मत प्राप्त गरे भने नेपालीले ३३२ मत ल्याए ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भए । उनले ५९० मत ल्याए, जबकि माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गरे ।

दार्चुला दुहुँ गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका धनसिंह कुँवर १८ मतको अन्तरले विजयी भए । उनले ३७६ मत प्राप्त गरे भने नेकपा एमालेका मानसिंह बडालले ३५८ मत ल्याए । पहिला जितेको माओवादी केन्द्रको तेर्साे पनि निकै मत घटेको छ । नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत प्राप्त गरे । यहाँ ८ सय ७७ मत खसेको छ । २०७९ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष मनोरथ भट्टको २०८० असार ११ मा निधन भएपछि उपचुनाव भएको थियो ।

यसअघि माओवादी केन्द्रले हेटौँडाको उपमहानगरपालिका १२ र महोत्तरीको रामगोपालपुर वडा नम्बर २ मा पनि उम्मेदवार उतारेका थिए तर ती वडाका नतिजा भने आउन बाँकी रहेको छ । साथै, रुकुम पश्चिमको पुथा उत्तर गंगा उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको पनि नतिजा आउन बाँकी छ ।

यहाँ उल्लेखनीय छ, गोरखामा भने माओवादी केन्द्रले एमालेबाट एउटा वडा खोसेको छ ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट