Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सहज रूपमा सेवा नपाएको भन्दै पालिका अध्यक्ष गरे तोडफोड


तम्घास, ५ पुस । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सहज रूपमा सेवा नपाएको भन्दै गाउँपालिका अध्यक्षले कार्यालयको सामान तोडफोड गरेको छ । कार्यालयले विकट गाउँबाट आएका सेवाग्राहीलाई तिन दिनसम्म झुलाएर दुख दिने गरेको आरोप लगाउँदै तोडफोड गरेको जनाएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले कालीगण्डकी गाउँपालिकाबाट आएका सेवाग्राहीहरूले सहज रूपमा सेवा नपाएको भन्दै राहदानी फाँटको स्क्यानर नै फुटाइदिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । स्क्यानर फुटेपछि राहदानी फाँटको सेवा सबै ठप्प भएको उनको भनाइ छ । विभागबाट स्क्यानर मगाएकाले आएपछि मात्रै सेवा सुचारु हुने गैरेले बताए ।

सदरमुकामबाट विकट रहेको कालीगण्डकी गाउँपालिकाबाट सेवा लिन प्रशासन आउँदा दिउँसोको दुई बज्ने भएकाले विकटलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष थापाको भनाइ छ । राहदानी बनाउनका लागि दुई दिनको टोकन गइसकेको भन्ने र कालीगण्डकीबाट आएका सेवाग्राही राहदानी बनाउनैकै लागि तीन दिनसम्म बस्नुपर्ने अवस्था दुःखद भएको थापाले बताए ।

राहदानी बनाउनका लागि दुई दिनको टोकन गइसकेको भन्ने र कालीगण्डकीबाट आएका सेवाग्राही राहदानी बनाउनैकै लागि तीन दिनसम्म बस्नुपर्ने अवस्था दुःखद भएको थापाले बताए ।

यता शुक्रवारका लागि राहदानी बनाउन टोकन लिएका सेवाग्राहीहरू मर्कामा परेर बिहानै घर तर्फ फर्किएका छन् । शुक्रवार काम नहुने र शनिवार कार्यालय बन्द हुने भएकाले घर फर्किएको शुक्रवारका लागि टोकन लिएका कालीगण्डकी १ हर्मिचौरका रोमकान्त पाण्डेले गुनासो गरे । बिहीबार होटेल बसेर शुक्रवार काम सकेर घर जाउँला भनेको कामै नभै यसै फर्किनुपर्दा समय र पैसा दुवै खर्च मात्रै भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले विकटलाई हेर्ने दृष्टि नै फरक भएको नेपाली काँग्रेस जिल्ला सचिव तथा कालीगण्डकी १ हर्मिचौरका स्थानीय जगदीश भट्टराईले गुनासो गरे । विकटका नागरिकलाई नागरिक जस्तो व्यवहार नगर्ने र हेपाहा व्यवहार गर्ने गरेको उनको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको भीड भएकाले राहदानीका लागि एक दिन अगावै टोकन वितरण गरी सेवा प्रवाह गरेको जनाएको छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले स्थानीय सरकार र सङ्घीय सरकारका रूपमा समन्वयको अभावको कारण समस्या भएको बताए । समस्याहरूलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा तोडफोडमै जानु गलत भएको उनको तर्क छ । जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा थप सुधार गर्नु आवश्यक भएको उनको भनाइ छ ।

जिल्ला प्रसासन कार्यालय गुल्मीबाट हुने सेवा प्रर्वाहमा कसैलाई काखा र कसैलाई पाखा नहुने प्रशासनले जनाएको छ । विकटलाई मध्यनजर गर्दै मेलबाट अपुग सिफारिस मगाएर सहजीकरण गर्दै आएको कार्यालयले जनाएको छ ।

स्क्यानर फुटाउने अध्यक्षलाई नियन्त्रणमा लिई क्षतिपूर्तिसहित राजनीतिकदलहरुको रोहवरमा लिखत रूपमै माफ मागेर छाडिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।


क्याटेगोरी : जनमञ्च, पालिका

प्रतिक्रिया


ताजा अपडेट