ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आगलागी हुँदा २२ लाखको क्षती
ओखलढुङ्गा, २७ पुस । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा कपडा पसल र होटेलमा आगलागी भएको छ । गाउँपालिकाको वडा नं ५ खिजिफलाटे बजारको बसपार्क क्षेत्रमा हरेको लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त घरमा सञ्चालन गरिएको कपडा पसल र होटेल पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
काठ र जस्ताले बनेको तामाङको एक तले घरमा खिजिदेम्बा गाउँपालिका–३ का विनोद सुनुवारको कपडा पसल र वडा नं ५ का दशरथ सुनुवारले सञ्चालन गरेको होटेल पसल पूर्ण रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार आगलागी बाट करिब २२ लाख १० हजार क्षति भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
क्षतिको पुरा विवरण आउन बाँकी छ । तामाङको घरमा भाडामा व्यवसाय सञ्चालन गरिएको थियो । रातको करिब १ बजेको समयमा आगलागी भएको थियो । विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरी र स्थानीयको अनुमान छ । आगलागीका कारण नजिकै रहेको ङवाङफुरी शेर्पाको एक तले पक्की घरको दुई वटा झ्याल, निमा तामाङको तीन तले पक्की घरको पहिलो र दोस्रो तलाको चार वटा झ्याल र गोपाल विकको चार तले घरको पाँच वटा झ्याल जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको पूर्ण विवरण आउन बाँकी रहेको र सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया