Techie IT
Samayabaddha
शनिबार, ३ फागुन, २०८१

पोखरा महानगरमा चरम भ्रष्टाचार: मेयर धनराज आचार्यको नेतृत्वमा तीन अर्बभन्दा बढी बेरुजु


पोखरा । पर्यटकीय राजधानी पोखरा महानगरपालिका अहिले चरम अनियमितता र भ्रष्टाचारको दलदलमा फसेको छ । महानगरका मेयर धनराज आचार्यले आफ्नो कार्यकालमा तीन अर्ब पाँच करोड ५० लाख रुपैयाँको बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले खुलासा गरेको छ ।

बजेटमा मनपरीः दुई अर्ब ४१ करोड अनाधिकृत रकमान्तर

नौ अर्ब छ करोड २३ लाख रुपैयाँको बजेट भएको महानगरपालिकामा मेयर आचार्यले दुई अर्ब ४१ करोड रुपैयाँ अनाधिकृत रूपमा रकमान्तर गरेका छन् । राजस्व संकलनमा समेत गिरावट देखिएको छ । पूर्वमेयर मानबहादुर जिसीले दुई अर्ब ५८ करोड राजस्व उठाएका थिए भने आचार्यले केवल एक अर्ब ९६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेका छन्, जुन अघिल्लो वर्षभन्दा २५ प्रतिशत कम हो ।

अनियमितता र भ्रष्टाचारको चक्र

महालेखा परीक्षकका अनुसार पोखरा महानगरपालिकामा तीन सय ४६ पदमा अस्थायी कर्मचारी करारमा भर्ना गरिँदा १३ करोड ९४ लाख रुपैयाँ गैरकानुनी रूपमा खर्च गरिएको छ । कानुनी प्रक्रिया विना नै एक सय २१ जना कर्मचारी नियुक्त गरेर चार करोड २५ लाख रुपैयाँ अनियमितता भएको देखिएको छ ।

सवा अर्बको लगानी तर काम शून्य
महालेखाको प्रतिवेदन अनुसार एक अर्ब ३० करोड ३२ लाख रुपैयाँ पूर्वाधार विकासका लागि विनियोजन गरिए पनि कार्यान्वयन लगभग शून्य छ । मेयर आचार्यले विभिन्न मेला, महोत्सव र परम्परागत चाडपर्वको नाममा एक करोड ५० लाख रुपैयाँ अनियमित खर्च गरेका छन् ।

धरौटी रकममा समेत करोडौंको घोटाला
महानगरको धरौटी रकममा पनि व्यापक अनियमितता भेटिएको छ । बैंकमा १५ करोड ४८ लाख धरौटी रकम देखिएकोमा महानगरले मात्र १३ करोड ८५ लाख देखाएको छ । एक करोड ७० लाख रुपैयाँ बेपत्ता छ।

खाताबाटै करोडौं गायब ?
महालेखाका अनुसार महानगरको खातामा हुनुपर्ने एक अर्ब २६ करोड रुपैयाँमध्ये नौ करोड २० लाख रुपैयाँ अचानक गायब भएको छ ।

अख्तियारको छानबिनमा शक्तिको दबाब ?
महालेखा प्रतिवेदन सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरे पनि शक्तिशाली तत्वहरूले छानबिन प्रभावित गरेको आशंका गरिएको छ ।

पोखरावासीले महानगरको आर्थिक पारदर्शिता र मेयर आचार्यको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् । अब अख्तियार र अन्य नियामक निकायले निष्पक्ष अनुसन्धान गर्छन् कि सत्ता र शक्तिको खेलमा यो विषय दबिन्छ, त्यो समयले देखाउनेछ ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट