बाँदरबाट आतङ्कित बनेका दोलखाको मेलुङ गाउँपालिकाका कृषक ड्रोन प्रयोग गर्दै

दोलखा, २२ फागुन । बाँदरबाट आतङ्कित बनेका दोलखाको मेलुङ गाउँपालिका–७ का किसानहरूलाई राहत दिन ड्रोन प्रयोग गर्न लागिएको छ । बाँदर धपाउन बन्दुकलगायतका साधनको प्रयोग गर्दा पनि नभएपछि यो नयाँ प्रविधि अपनाउन लागिएको वडाध्यक्ष नवराज खडकाले जानकारी दिए ।
उनका अनुसार वडाको तीन लाख रुपियाँ लगानीमा ड्रोन खरिद गरिएको हो । ड्रोनको जानकार सल्यानका विजय राना मगरले यहाँका किसानहरूलाई प्रशिक्षण गरिरहेका छन् । पाँच दिनसम्म प्रशिक्षण दिने तालिका रहेको छ । हाललाई शिक्षित सात जना किसानहरूलाई ड्रोन चलाउन र २५ जनालाई यस सम्बन्धी जानकारी गराइएको छ ।
बाँदरलाई तर्साउन, धपाउन ड्रोनमार्फत बाघ र बन्दुकको आवाज निस्कने, सेकेन्ड सेकेन्डमा बिजुलीको झडका दिने, राती बाँदर, दुम्सी रहेका स्थानमा साइरन बजाउने लगायतका १० थरी उपाय किसानलाई सिकाइने र स्थलगत अभ्यास गराउने बताइन्छ ।
बाँदर रहेका स्थानमा ड्रोनमार्फत पासो थापेर एक पटकमा १५ वटासम्म बाँदरलाई नियन्त्रणमा लिएर परिवार नियोजन गरिनेछ । बाँदरले हरेक चार÷चार महिनामा बच्चा उत्पादन गर्ने गर्दछन् । यसबाट पनि बाँदर कम हुने अपेक्षा राखिएको वडाध्यक्ष खडकाले बताए ।
बाँदर आङतकका कारण किसानहरूले खेतबारी बाँझै रहेका छन् । उनले भने, बाँदर नियन्त्रणका लागि पटक पटक सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउँदा पनि ठोस समाधान आउन सकेको छैन । अहिले जस्तै अवस्था रहिरहे वडाका धेरै स्थानमा खेतबारी वनमा परिणत हुने देखिएको छ ।
क्याटेगोरी : पालिका, रोचक
प्रतिक्रिया