पाँचथरमा आगलागीमा परी दुई जनाको मृत्यु

फिदिम, २२ चैत । पाँचथरमा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका १३ का ४७ वर्षीया उषाकला राई नेम्वाङ र कुम्मायक ३ का २२ वर्षीया प्रतिमा सम्वाहाम्फे रहेका छन् ।
बिहीबार दिउँसो दाउरा खोज्न भएकी राई फिदिम १३ को जौवारी जङ्गलमा सल्केको डढेलोमा फस्दा गम्भीर घाइते भएकी थिइन् ।
उनलाई काठमार्डौको बर्न अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यस्तै, कुम्मायक ३ को जङ्गलमा लागेको डढेलोमा फसेकी स्थानीय प्रतिमा सम्बाहाम्फेको बिहीबार राति निधन भएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) विनालाल साह (तेली) का अनुसार कुम्मायक गाउँपालिका ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको नीजि बनमा लागेको डढेलोमा पर्दा घाइते भएका थप दुई जनालाई उपचारका लागि विराटनगरको सिटि अस्पतालमा भर्ना गरिएको छ ।
२८ वर्षीया सपना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाईलाई विराटनगर पुर्याइएको र अवस्था जटिल रहेको पारिवारिक स्रोतले जनाएको छ ।
आगोमा जल्दा निभाउने क्रममा कुम्मायक १ का ५५ वर्षीय धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ भने कुम्मायक ३ की ११ वर्षीया सिवाना सम्वाहाम्फे घाइते छिन् ।
कुम्मायकमा भएको आगलागीमा सात जना सर्वसाधारणको घर जलेको छ । साथै आगलागीबाट ४० लाख रुपियाभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया