बालेन साह नौ दिनपछि कार्यालयमा हाजिर, एकछिन बसेर निस्किए

काठमाडौं, २८ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नौ दिनपछि बिहीबार कार्यालय पुगेका छन् । मेयर बालेन आज एकछिन कार्यालय आएर निस्किएको महानगर स्रोतले जनाएको छ ।
“आज एकछिन कार्यालय आउनुभएको थियो, फेरि निस्किनुभयो,” महानगर स्रोतले भन्यो ।
बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने मेयर बालेन कार्यालयमै रहेको दाबी गरे । “मेयर कार्यालय नआएर कहाँ जाने ? अहिले पनि मेयर साुब कार्यालयमै हुनुहुन्छ,” उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुनुअघिदेखि नै बालेन बिदामा बसेका थिए । गत हप्ताको बिहीबार गुरागाईं कार्यालयमा हाजिर भएका थिए । महानगर प्रहरी बलको अवरोधका बाबजुद उनलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षसम्म पुर्याएका थिए ।
त्यतिबेला बालेन दोलखाको भीमसेन पुगेका थिए । महानगर स्रोतका अनुसार, बालेन गत साताको मंगलबारदेखि महानगर गएका थिएनन् ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया