Techie IT
Samayabaddha
बिहीबार, १७ माघ, २०८१

कुख्यात अपराधी गिरी ७२ वर्षको उमेरमा प्रहरीको फन्दामा


जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पर्सा सखुवा प्रसौनी गाउँपालिका–५, का ७२ वर्षीय प्रेम गिरीलाई पक्राउ गर्‍यो । प्रेम उनै कुख्यात अपराधी हुन्, जुन दुई दशकअघि प्रहरीको टाउको दुखाइ बनेका थिए । मुख्यतया तराई क्षेत्रलाई आपराधिक कर्मथलो बनाएका गिरीमाथि प्रहरीमा दर्जनौँ उजुरी छन् । त्यो पनि जघन्य अपराधका ।

तर, तराईका विभिन्न जिल्लामा अपराधिक घटना घटाएर उनी सीमापार भारत गएर लुक्दा प्रहरी हैरान भएको थियो । आइतबार भने पर्सा प्रहरीलाई उनी नेपाल आएको सूचना पुग्यो । सोही सूचनाको आधारमा प्रेमलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) केशरकुमार न्यौपानेका अनुसार उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले जिल्ला अदालत पर्साबाट पहिलो पटक अनुसन्धान गर्न ६ दिनको समय पाएको छ ।

पर्सा प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ वर्षीय मोहनप्रसाद मैनालीको गोली हानी हत्या भएको घटनामा अनुसन्धान गरिरहेको छ ।

मैनालीमाथि २०६५ असोज २२ मा पर्सामै गोली प्रहार भएको थियो ।  गिरीले घटाएको यो पछिल्लो घटना मात्रै हो । उनी करिब दर्जन जघन्य अपराधमा संलग्न भएको खुलेको छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा २०५६ सालदेखि नै अपराध कर्ममा लागेको खुलेको हो ।

डीएसपी न्यौपानेका अनुसार उनीमाथि पहिलो पटक २०५६ जेठ २ मा पर्सामा सार्वजनिक अपराध मुद्दा चलेको खुलेको छ । तर, उनी त्यो बेला पक्राउ भने परेनन् । सार्वजनिक अपराधबाट सुरु भएको प्रेमको अपराध यात्राको उडान यतिमै सीमित रहेन ।

त्यसको एक वर्षपछि २०५७ भदौ १२ मा प्रेमले पर्सा विन्दवासिनीका ३० वर्षीय देवेन्द्रप्रसाद यादवको हत्या गरे । यादवको घरमा लुटपाट गर्न पुगेका प्रेमले यादवलाई राति १२ः३० बजे गोली हानेर हत्या गरेका थिए ।

त्यो बेला समेत उनी पक्राउ परेनन् । प्रहरीलाई छक्काउन माहिर प्रेम त्यो बेला ५७ वर्षका थिए । त्यसपछि समेत उनीमाथि तीन वटा हातहतियार तथा खरखजना मुद्दामा फरार रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार प्रेम तराईका विभिन्न भूमिगत समूहमा रहेर लुटपाट तथा डाँका चोरीमा संलग्न रहेको समेत पाइएको छ ।

एसपी ढुंगेलले भने, “प्रेमले पर्सामात्र होइन्् भारतका विभिन्न ठाउँमा समेत आपराधिक घटना घटाएका छन् । भारतीय प्रहरीको समेत उनी खोजीका अपराधी हुन् ।”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट