नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवका चलचित्रहरू सार्वजनिक
उद्घाटनमा ‘गाउँ आएको बाटो’ प्रदर्शन हुने
वासिङ्गटन डीसी । नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ । नेपालका नवीन सुब्बाद्वारा निर्देशित ‘गाउँ आएको बाटो’, पाकिस्तानी मुलका अमेरिकी इराम परविन बिलालद्वारा निर्देशित ‘वाख्री’ र इरानका मिराब्बास खोस्राविनेजेहादद्वारा निर्देशित ‘परविन’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन् ।
मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान , जर्मनी , पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ चलचित्रहरू प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ । चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।
आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका अनुसार गत वर्ष टोरोन्टो फिल्म फेस्टिवलमा छनोट भएको सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै २०२३ मा भेनिस फिल्म फेस्टिवलमा छनोट भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’को प्रदर्शनसँगै महोत्सव समापन हुनेछ ।
ग्लोबल पिस फिल्म फेस्टिवल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक रोबर्ट इ फ्रेको ‘इन सर्च अफ रिजोलुसन’ र जर्मनी निर्देशक रिक मिनिकको ’द स्ट्रेट गाइज’ गरि दुई चलचित्र प्रदर्शन हुनेछन् । ग्लोबल पिस फिल्म फेस्टिबल र नेपाल अमेरिका फिल्म सोसाइटी महोत्सव सुरुवातदेखि नै सहकार्यरत छन् ।
राजन कठेत र सुनिर पाण्डे निर्देशित अन्तराष्ट्रिय पुरस्कार विजेता वृत्तचित्र ‘ढोर पाटन’ र नेपालका चर्चित निर्देशक केसाङ क्षेतेन निर्देशित वृत्तचित्र ‘डाइभरसिटि प्लाजा’ पनि महोत्सवमा प्रदर्शन हुनेछन् ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
महोत्सव अवधिमा चलचित्र र संस्कृति, महिला ’प्यानल’ छलफलका साथै र चलचित्र निर्माणबारे ’मास्टर क्लास’ पनि हुनेछ । म्यारिल्याण्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।
महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट सोसाइटीको छनोट समितिले चलचित्रहरू छनौट गरेको हो । म्यारिल्याण्ड राज्यमा स्थापित सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया