उभौली साकेला समापन
धरान एक महिनासम्म सञ्चालित किरात राईहरुको महान् पर्व उभौली साकेला आज यहाँ एक कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ । किरात राई यायोक्खा सुनसरीले वृहत्त कार्यक्रम आयोजना गरी गरी गत वैशाख १० गतेदेखि सुरु साकेला उभौली सम्पन्न गरिएको हो ।
ढोल प्रशिक्षक धरान उपमहानगरपालिका–१३ का राजेश राईले आफूहरुले एक महिनासम्म विभिन्न ठाउँमा गएर नृत्यु प्रस्तुत गरेर साकेला मनाएको बताए । उनले भने, “एक महिनासम्म हामीले प्रत्येक ठाउँहरुमा गएर नृत्यु प्रदर्शन ग¥र्यौ, आज अन्तिम दिन साकेला पार्कमा नृत्यु प्रस्तुत ग¥यौँ ।”
धरान–१५ की पूजा राई साकेला समापनको अवसरमा मौलिक गहना र पहिरनमा सजिएर आएकी थिईन् । “पुर्खाले मान्दै आएको चाडपर्व हामीले बिर्सिनु हुन्न भन्ने हिसाबले हामी उभौली र उधौली दुवै नाच्ने गर्छौं ।”
साकेला पर्वका अवसरमा सहभागीहरु सांस्कृतिक वेशभूषामा सजिएका थिए । साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला उभौली, उधौली विशेषगरी नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गर्दै साकेला सिली नाच्ने परम्परा रहिआएको छ ।
साकेला पर्व र साकेला नाचको सुरुआतका विषयमा विभिन्न ठाउँअनुसार फरक–फरक मिथक र बूढापाखाहरुको भनाइ पाइन्छन् । साकेला किरात राईहरुको विशुद्ध चाड रहेको बागियान पत्रिकाका सम्पादक श्रीशिशा राईको भनाइ छ । “यो चाडमा किरात राईहरुले पुर्खालाई सम्झेर सिलीमार्फत सम्मान गर्छन्”, उनले भने “किरात राई समुदायमा पुर्खाहरुको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक उधौली र उभौलीमा पितृहरुको पूजा अथवा (माङ) गर्ने चलन छ ।”
साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ । आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडका रुपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरु मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ ।
विशेषगरी यसको सुरुआतका विषयमा किरात समुदायमा ठाउँहरुअनुसार आ–आफ्नै तर्क र भनाइहरू भेटिन्छन् । यद्यपि, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुआत गरेको किंवदन्तीमा उल्लेख भएको भेट्न सकिन्छ ।
पूर्वका सबै ठाउँ धरान, इटहरी, तरहरा, चक्रघटी, उदयपुर, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायत ठाउँहरुमा साकेला पर्व उत्सवकै रुपमा मनाउने प्रचलन उत्तिकै बढिरहेको छ ।
पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरु उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा पनि उत्तिकै ठूलो बाहुल्यतामा साकेला नाचिन्छ । काठमाडौँका टुँडिखेल, हात्तीवनलगायत स्थानमा पनि आज भव्यताका साथ साकेला सिली नाच्दै समापन गरिएको छ ।
चार किरात (राई, लिम्बु, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उधौली पर्व भव्यताका साथ मनाउने प्रचलन छ ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बूढापाकाको भनाइ छ ।
विगतमा झैँ यस वर्ष पनि सुनसरी, धरान, तरहरा, इटहरी, पकली, प्रकाशपुर, बराहक्षेत्र, भरौल, रामधुनी, चक्रघट्टीलगायत सबै ठाउँमा बृहत् साकेला नृत्यसहित उभौली मनाइएको थियो ।
आज धरान–१७ साकेला पार्कमा भएको समापन कार्यक्रममा ७० हजारभन्दा बढीको सहभागिता रहेको सुनसरी किरात राई यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए ।
समापनको दिन धरानलगायत ठाउँबाट जम्मा २० वटा साकेला सिल्ली चण्डी प्रदर्शन गर्नुभएको थियो भने नाचमध्ये उत्कृष्ट नाच्ने समूहलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । आज समापन भएको कार्यक्रममा रु १२ लाखभन्दा बढी खर्च भएको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र जानकारी दिए । उधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया