नौ वटा सहकारीको कागजात संसदीय छानबिन समितिले मगायो
सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले कार्यविधिको अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात माग गर्ने निर्णय गरेको छ।
संसदीय विशेष समितिको बुधबार बसेको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको सम्बन्धित निकायहरूबाट कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।
समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।
यीमध्ये पोखराको सूर्यदर्शनलगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ। ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो। रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक थिए।
रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।
समितिका सभापति थापाका अनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको छ।
‘विभिन्न सहकारीमार्फत् गोरखा मिडियामा प्रबाह भएको रकमको स्थितिसहित ६ बुँदासहित कागजात माग गर्ने निर्णय भएको छ,’ उनले भने, ‘गोरखा मिडियामा विभिन्न सहकारीबाट प्रबाह भएको रकमका बारेमा हामीलाई चासो छ, कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ।’
सहकारीबारे यसअघि गठन भएका विभिन्न ८ वटा आयोग/समितिका प्रतिवेदन पनि संसदीय समितिलाई प्राप्त भइसकेको सभापति थापाको भनाइ छ।
‘समितिका सदस्यहरूलाई ती प्रतिवेदन अध्ययनका लागि उपलब्ध भएका छन्,’ उनले भने।
उनले अरू केही निकायहरूसँग पनि छलफल र बैठक गर्ने समितिले निर्णय गरेको बताए।
समितिलाई तीन महिनाको अवधि रहेको पनि उनले बताए। बजेट पारित गर्नेजस्ता संसदका कार्यसूचीले सांसदहरू व्यस्त हुँदा केही दिन बैठक गर्न नसकिएको पनि उनले बताए।
‘यो समिति कसैलाई ढाकछोप गर्न पनि बनेको होइन, कसैलाई नियतवश फसाउन पनि गठन भएको समिति होइन,’ उनले भने, ‘प्रमाणहरू छन् भने उपलब्ध गराउने हो।’
समितिले बुधबारको बैठकमा सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दिपकप्रकाश बास्कोटा र सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग छलफल गरेको थियो।
उनीहरूले सहकारीमा देखा परेका समस्याको समाधानबारे सुझाव दिएका थिए। ३० हजार हाराहारीमा सहकारी रहेकोमा करिब पाँच सय वटामा समस्या देखिएको उनीहरूको भनाइ थियो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया