इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन
कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पुर्याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत लागतमा तीनवटा कृषक समूहलाई गत आव र अहिले गरी तीनवटै कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको हो । यस वर्ष इच्छाकामना–१ को सिराइचुली कृषि सहकारी संस्था र इच्छाकामना–६ स्थित चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाका लागि एक÷एक वटा कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको पौडेलले जानकारी दिईन्। गत आवको असारमा इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।
गत आवमा हस्तान्तरण गरिएको कृषि एम्बुलेन्सले मायाटार, वल्र्याङ क्षेत्रका किसानको कृषि उपज ढुवानीमा सहज भएको पाइएसँगै यसको प्रभावकारिता सकारात्मक देखिएपछि चालु आर्थिक वर्षमा वडा नं १ र ७ मा थप दुईवटा कृषि एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले भने, “गत आवमा खरिद गरिएको कृषि एम्बुलेन्सले गाउँको उत्पादनलाई बजार लैजान र बजारबाट गाउँमा चाहिने सामान ढुवानी गर्न धेरै सहज भएको छ । गत वर्षको काम सफल तथा प्रभावकारी भएसँगै हामीले यसपटक दुईवटा कृषि एम्बुलेन्स थपेका हौँ ।”
उनले पालिकाले कृषि योजनालाई उच्च प्राथमिकता दिएसँगै कृषि उत्पादन र यसको बजारीकरणका लागि कृषि एम्बुलेन्स आवश्यक ठानेर हस्तान्तरण गरिएको बताए । पालिकाको भाराङ, हात्तीवाङ, मायाटार, वल्र्याङ दाहाखानीलगायतका क्षेत्रलाई लक्षित गरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
कृषि एम्बुलेन्सको प्रयोगले भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख गुरुङको विश्वास छ । गाउँमा उत्पादन भएका कृषि उपज एम्बुलेन्स चालकले बिक्री गरेर साँझ पैसा पु(याइदिने व्यवस्थासमेत मिलाएको उनले स्पष्ट पारे ।
धेरैजसो पहाडी इलाका रहेको इच्छाकामनामा उल्लेख्य मात्रामा तरकारी तथा फलफूलखेती हुने गर्दछ । यहाँ उत्पादित फलफूल र तरकारीको मुख्य बजार राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिन हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया