गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

शुक्रबार, ३२ साउन २०८१
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।
गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै लेखकले भने ‘घटना के कसरी घट्न गएको हो ? दुर्घटना हुनुमा कसको गल्ती छ भन्ने कुराको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसरका डीएसपी राजन कार्कीले जानकारी दिए ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।
मृत्यु हुने व्यक्ति दिनभर महिला, राति पुरुष !
दुर्घटना भएपछि भक्तपुर हिजो दिनभर तनावग्रस्त रह्यो । प्रहरीले घटना भएर मृत्यु हुनेमा मेलुङ गाउँपालिका–४ भेडपु घर भएकी सुस्मा नेपाली भनेर सूचना दियो । यो सूचना मिडियाबाट प्रसारित भएपछि मृतक भनिएकी महिला प्रहरीकोमा आफै पुगेर आफ्नो मृत्यु नभएको जानकारी दिइन् ।
उनका दाजु राजु नेपालीले नै उक्त शव आफ्नो बहिनीको भन्दै रुँदै थिए । दाजुले नै मृतक आफ्नो बहिनी भएको बताएपछि प्रहरीबाटै गलत सूचना प्रवाह भएको थियो ।
भक्तपुरको प्रहरी र प्रशासनले दुर्घटनामा सुस्माको मृत्यु भएको जानकारी दिएपछि देशभरका मिडियाले उनको मृत्यु सम्बन्धी समाचार प्रकाशन गरेका थिए ।
दुर्घटनामा शवको पहिचान गर्न नसक्नेगरी क्षतविक्षत भएका कारण पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको थियो ।
दुर्घटनामा परेको स्कुटीमा फेला परेको ब्लुबुकमा सवारी धनीको नाम ओखलढुंगाका उत्तम कोइराला भएको फेला परेपछि उक्त शब उत्तम कोइराला भन्ने पुरुषको हुनुपर्छ भन्ने प्रहरीको अनुमान रह्यो । हिजो बेलुकानै शबलाई त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि पठाइएको थियो ।
प्रहरीलाई गलत सूचना दिने सुष्माका दाजु दोलखा भेड्पुका राजु नेपालीलाई प्रहरीले हिरासतमा राखेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया