Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

युक्रेनले रुसी आक्रमणको जवाफ दिनेछ : राष्ट्रपति जेलेन्स्की


रुसको पछिल्लो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको जवाफ दिने बताएका छन् । रुसको आक्रमणमा चार जनाको ज्यान गएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सही ढङ्गले त्यसको जवाफ दिने बताएका बीबीसीले जनाएको छ । युक्रेनमा गएरातिदेखि रुसले गरेको आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।

यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले हिजोदेखि युक्रेनका नागरिक र पूर्वाधारलाई लक्षित गरी ९० पटक हवाई आक्रमण गरेको बताए । यसमा कम्तीमा ८१ ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल रहेका खबरमा उल्लेख छ ।

जेलेन्स्कीले रुसको वर्तमान र विगतका आक्रमणहरूको जवाफ पक्कै दिने तथा मानवताविरुद्धको अपराधलाई नछोडिने सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

युक्रेनको वायुसेनाले रुसको पाँच वटा मिसाइल र ६० वटा ड्रोन खसालेको दाबी गरेको छ ।

युद्ध शुरू भएपछिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको एक दिनपछि रुसले युक्रेनमा अर्को चरणको आक्रमण शुरू गरेको हो । हिजो युक्रेनको आधाभन्दा बढी क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण हुँदा सात जनाको ज्यान गएको थियो भने कैयौं व्यक्ति घाइते भएका थिए ।

युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न ठाउँमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको हो । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि युद्ध भइरहेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट