Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग युद्ध अन्त्य गर्ने योजना अमेरिकी राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट रुससँगको युद्ध अन्त्य गर्ने योजना अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष प्रस्तुत गर्ने बताएका छन् ।

२ वर्षभन्दा लामो समयदेखि चलिरहेको युक्रेन–रुस युद्धवार्ता मार्फत नै समाप्त गर्न सकिने दाबी गर्दै राष्ट्रपति जेलेन्स्कीले बाइडेन र आउने राष्ट्रपति चुनावका लागि उमेद्वार रहेका अरु दुई जनालाई पनि आफ्नो योजनाबारे जानकारी दिने बताएका हुन् । तर यसको लागि युक्रेन बलियो स्थितिमा हुनुपर्ने जेलेन्स्कीको भनाइ छ ।

रुसको कुर्स्क क्षेत्रमा तीन हप्ताअघि आक्रमण शुरू गरेर रुसको १ हजार बर्गकिलोमिटर भूमि कब्जा गर्नु पनि युद्ध अन्त्यकै योजनाको हिस्सा भएको युक्रेनको दाबी छ । तर यसले आर्थिक र कूटनीतिक गतिविधिमा समेत प्रभाव पारेको भन्दै युक्रेनलाई योजना अघि बढाउन समस्या भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि रुसलाई युद्ध अन्त्य गर्न बाध्य बनाउन बुनेका कुनै पनि योजना सफल नभएपछि अब वार्तामार्फत युद्ध अन्त्य गर्ने योजना रहेको जेलेन्स्कीले बताएका छन् । जेलेन्स्की आउने सेप्टेम्बरमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभामा भाग लिन अमेरिका जाने र बाइडेनलाई भेट्ने तयारीमा छन्।

उनले अन्तर्राष्ट्रिय शान्ति शिखर सम्मेलनमा जस्तै वार्ताका लागि रुसका प्रतिनिधि पनि महासभामा भाग लिन आउने अपेक्षा रहेको बताएका छन् । कीभको शान्तिवार्ताका लागि यसअघि स्विट्जरल्याण्डमा पहिलो शिखर सम्मेलन भएको थियो । भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा सन् २०२२ फेब्रअरी २४ देखि आक्रमण शुरू गरेको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट