नेपाल एअरलाइन्सका ४ मध्ये ३ वटा जहाज ‘ग्राउन्डेड’
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज ‘ग्राउन्डेड’ हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । निगमसँग भएका चारमध्ये तीन वटा जहाज ग्राउन्डेड हुँदा काठमाण्डौ, हङकङ, दोहा र दुबईमा झन्डै आठ सय जना यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडान रद्द हुँदा यात्रु प्रभावित बन्न पुगेका हुन् ।
न्यारोबडी ‘सगरमाथा’ मार्फत एक सय ५६ जना यात्रु लिएर काठमाण्डौबाट हङकङ उड्ने जहाज ग्राउन्डेड भएपछि यात्रुलाई दिनभर र्याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायु सेवाको टिकट किनेर गन्तव्यमा पठाउने व्यवस्था मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले विदेशमा अलपत्र पर्ने यात्रुलाई अन्तर्राष्ट्रिय नियमअनुसार पाँचतारे होटलमा राख्नैपर्ने व्यवस्थाअनुसार निगमले व्यवस्था गरेको उल्लेख गरे । उडान रद्द हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुको व्यवस्थापन र टिकटमा हिजोको उडानबाट मात्रै निगमले एक करोड रुपैयाँ गुमाएको छ ।
निगमका प्रवक्ता पौडेलका अनुसार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुईरदुई वटा रहेका छन् । तर एउटा वाइडबडी ‘सी–चेक’ का लागि दुई महिनादेखि इटालीमा अलपत्र अवस्थामा रहेको छ । उनले अर्को वाइडबडी सी–चेककै लागि आज बेलुकी इटाली पठाउने तयारीमा रहेको जानकारी दिए । यस्तै आन्तरिकतर्फ निगमको दुई वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा रहेको छ ।
चाडपर्वकै बेलामा निगमका जहाज ग्राउन्डेड हुँदा टिकट नपाउने तथा हवाई भाडामा मनपरी हुने जोखिमसमेत बढेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया