Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

सिन्धुलीको लुटपाटमा जनप्रतिनिधिदेखि एमाले र माओवादी कार्यकर्ता संलग्न


काभ्रेका दुई पालिकाले ग-यो बोट दर्ता ! निकासीमा कतै कर त कतै मेलमिलाप !

काठमाडौं/पछिल्लो समय अपराधका शैलीहरू फेरिए । सुन्नै नसकिने घटनाहरू हुन थाले । सुन्ने र देख्नेकै भक्कानो छुटाइदिन्छ भने भोग्नेहरूको हालत के होला ? सोंच्नसम्म मात्रै सकिन्छ ।

बौद्ध धर्मसँग जोडिएको पवित्र मालासमेत अपराधको शिकार बन्यो, अर्थात सिन्धुलीको फिक्कल गाउँपालिका १ मा रहेको बोधीचित्त लूट र कारोवारमा सिन्धुलीका जनप्रतिनिधिदेखि दलहरुकै भातृ संगठन सम्बद्ध नेताहरुको संलग्नताले फेरि एक पटक सिंगो देशकै ध्यान तानिरहेको छ ।

मानिस यति क्रूर हुन थाले कि दन्त्य कथाहरूका पात्र राक्षसभन्दा कठोर र निर्दयी । किनकि बोधिचित्तको बोटबाट योजनाबद्ध रुपमा दानाहरु लुटियो र सो लुटपाटमा सहयोगी बनेका जनप्रतिनिधि र भातृ संगठन सम्बद्ध युवा नेताहरुको संलग्नताको तथ्यले सिन्धुलीका राजनैतिक दलका नेतालाई कति फाइदा भयो त्यो त कालान्तरमा थाहा होला ।

रुख धनी र फिक्कल गाउँपालिकाका अधिकारीले त्यसलाई कसरी आफ्नो स्वार्थमा समावेश गरे त्यो खुल्दै जाला । करोडौंमा बिक्री हुने बोधिचित्तको किनबेच, संझौता र दोस्रो व्यपारीलाई संझौता गराउन संलग्नहरुको पछिल्लो सक्रियताले घटना नेपाली लोकप्रिय उखानः ‘लहरो तान्दा पहरो गर्जंदैं’ भने झैं एकपछि अर्कोगर्दे तथ्यहरु खुल्न थालेका छन् ।

फिक्कल गाउँपालिका १ का वडाध्यक्षसमेत रहेका होमवहादुर सुनुवारको बारीमा बुद्धचित्तका साना ठूला गरी करिब १५ वटा रुख छन् । सबै हरिया देखिन्छन् । यिनीहरुमध्ये दुई वटा बोटमा लटरम्म बोधिचित्तका दाना फलेको देखिन्छ । साउनको अन्त्यतिर टिप्नु पर्ने बोट वडाध्यक्ष सुनुवारको द्रब्यमोह र राजनैतिक आवरणमा बसेका बिचौलियाहरुको खेलो फड्काका कारणले लाखौं लगानी गरेको समूहले दानाहरु लैजान पाएन अर्थात बीचमै अर्कैले शिकार गरिदियो ।

बोधिचित्त लुटपाटको तथ्य !

होमबहादुर सुनुवारको बुद्धचितको रुख फिक्कल गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका शिव बरालमार्फत काभ्रे तेमालका पुष्पलाल दोङ, राकेश तामाङ र दूतराज तामाङले वार्षिक ५ लाख रुपैयाँमा ३ वर्षको लागि १५ लाखमा करार सम्झौता गरेका थिए । उक्त १५ लाखमा करार सम्झौता गरेको भनिएको रुख उनीहरूले काठमाडौं ठमेलका व्यापारी आर्यन खतिवडालाई ६५ लाखमा बिक्री करार गरेका थिए । तर, दाना टिप्ने समयमा आर्यन खतिवडालाई बिक्री गरिसकेको बोधिचित्तको दाना गत साउन १ गते राकेश र दूतराज तामाङ आफैले लुटेका थिए ।

आर्यन खतिवडाले आफूले खरिद गरेको बोधिचित्त लुटिएको भनेर मिडियामा आएपछि मात्रै घटना बाहिर आएको थियो । मिडियामा उनले प्रहरीकै संलग्नतामा माला लुटिएको प्रहरीले राजधानी काठमाडौका केही मिडियामा आएपछि मात्रै तथ्य बाहिर आएको थियो ।

मिडियाको सहारामा उभिएका खतिवडाले दिएको किटानी जाहेरी र उजुरी समेत लिन अस्वीकार गरेको त्यसक्रममा बताएका थिए ।

फिक्कलबाट लुटिएको ५० केजी बोधिचित्तको दाना ठमेलको एक होटलमा चिनियाँ व्यापारीसँग डिल गरेर ३ करोड रुपैयाँमा बिक्री गरिएको सो कारोवारमा संलग्नहरुले बताएका छन् । जवकि फिक्कल गाउँपालिकाले सो बोधिचित्तलाई कौडीको मूल्यमा राजस्व काटेर निकासीको मार्ग खोलिदिएको थियो ।

चौतर्फी आलोचना भएपछि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उक्त घटनाको किटानी जाहेरी साउन १६ गते मात्रै दर्ता गरेको थियो । सिन्धुली प्रहरीले जाहेरी दर्ता भएसँगै पहिलो चरणमा ३ जनालाई अनुसन्धानका लागि पक्राउ गर्ने तयारी गरेको थियो । त्यसक्रममा जोडिएका थिए काभ्रे तेमालका माओवादी कार्यकर्ता राकेश तामाङ र सिन्धुलीका एक माओवादी नेता, जसले वडाध्यक्षलाई दबाब दिएका थिए । स्थानीय बासिन्दाका अनुसार सो लुटपाटमा एमाले र माओवादी सम्वद्ध युवा संघका नेता कार्यकर्ता संलग्न छन् । त्यसबेला सिन्धुली सदरमुकामका युवाहरुले फिक्कलको राजमार्ग ढाकिएको थियो ।

सिन्धुली प्रहरीले काभ्रे प्रहरीलाई पक्राउका लागि पत्राचार गरेपछि तामाङले गएको भदौ २ गते सिन्धुली प्रहरी समक्ष उपस्थित भएका थिए । तामाङलाई जिल्ला अदालत सिन्धुलीबाट पटकपटक म्याद थप गर्दै अनुसन्धान अगाडी बढाएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रहरी प्रमुख काफ्लेका अनुसार, पक्राउ पुर्जी जारी भएका ३ जनामध्ये राकेश आफै प्रहरी कार्यालयमा हाजिर भएको र अन्य २ जना अझै फरार रहेको छन् । प्रारम्भिक अनुसन्धान हेर्दा अरू थुप्रै संलग्न पक्षहरू तानिने देखिन्छ उनले भने ।

वडाध्यक्षकै मिलेमतो !

बोधिचित्तका मालिक अर्थात बोटधनी वडाध्यक्ष सुनुवारको भए पनि कानूनी रुपमा त्यसको स्वामित्व कागजी हिसावले अर्कैको बनिसकेको देखिन्छ । सुनुवारका दुई छोराहरू छन् । दुबै छोराले उक्त बृक्षको रखवाली गर्ने काम गरेका थिए । घटना हुँदा मंगलवार घरमा एउटा छोरा मात्र थिए ।

सुनुवारले अघिल्लो साल फलेको थोरै दानाबाट केही रकम प्राप्त गरेका थिए तर त्यसबेला उनले कहाँ र कसरी बेच्ने भन्ने मेलोमेसो नै पाएका थिएनन् तर यसपटक भने उनलाई आफ्नै गाउँकै मानिसले मालामाल बनाई दिए तर उनलाई मालामाल बनाउने र आँखा छलेर लाखौं लगानी गर्ने व्यापारीको आँखा छलेर कमाएकाहरुको भने यो बिबरण तयार पार्दासम्म निदहराम हुन थालेको छ ।

वडाध्यक्ष सुनुवारले दाना जति मूल्यमा बेचेका छन्, त्योभन्दा थोरै मूल्य राखेर फिक्कल गाउँपालिकालाई कर तिरेका छन् ।

मालाको बढ्दो प्रयोग !

नेपालसहित विश्वमा बौद्ध धर्मावलम्बीहरुले बुद्धचित्तको माला मन्त्र जप्न प्रयोग गर्छन् । ठूला लामा गुरुहरूले यसको प्रयोग गर्दा शान्ति प्राप्ति हुने विश्वास बाँडेका कारण पनि माग बढेको हो ।

ल्हासा, तिब्बतलगायत चिनियाँ बजारमा यसको धार्मिक महत्व बढेकाले पछिल्लो समय अधिकांश नेपाली माला उतैतिर निकासी हुन्छ । त्यस्तै, तिब्बतमा बुद्धचित्तको दाना मात्र प्रयोग गरी ठूलो गुम्बा निर्माण भइरहेकाले यसको माग उच्च भएको नेपालस्थित धर्म गुरुहरूको भनाइ छ ।

काभ्रेमा बोधिचित्तको बोट दर्ता गरिंदै !

काभ्रेका रोशी र तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को बोटलाई दर्ता गर्न थालेको छ । यसको दाना टिप्ने बेला किसान असुरक्षित हुने क्रम बढेपछि पालिकाले यस्तो निर्णय गरेको बताइएको छ ।

बुद्धचित्तको दाना संकलन तथा प्रशोधन गर्ने समय असारदेखि सुरु भएर असोजसम्म कायम रहन्छ । यही चार महिनाको अवधिमा उत्पादक किसान तथा स्थानीय संकलकहरु असुरक्षित रहँदै आएको देखिएको छ ।

व्यापारीहरूले हचुवाकै भरमा लाखौं रुपैयाँ दिएर एक वर्षदेखि दशौं वर्षका लागि भन्दै बुद्धचित्तको रुखको फल किन्ने होडबाजी चलेपछि बुद्धचित्त दाना÷मालाको मूल्य आकासिएको हो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले भने, ‘बुद्धचित्तको अस्वाभाविक मूल्य शृंखलाले उत्पादकमेत असुरक्षित हुँदै आएका छन् । यसैलाई ध्यानमा राख्दै गाउँ कार्यपालिकाको बैठकले किसानलाई सूचीकृत हुन र बोट दर्ता गर्नका लागि आह्वान गर्ने निर्णयसमेत गरेको छ, उनले अगाडि भने ।

बोधिचित्तको गेडाको साइज अनुसार एक सय आठ दानाको मालाको पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म पर्ने गरेको छ । एउटै बोटको गेडा बेच्दा करोड रुपैयाँसम्म आम्दानी गर्न थालेका किसानलाई गेडा नटिप्दै, गेडा टिपेर प्रशोधनका क्रममा र निकासी गर्ने क्रममा त्यत्तिकै समस्याहरु आइपर्ने गरेको पाइएको छ ।

किसानलाई जीवन रक्षाकै चिन्ता !

‘गाउँका किसानलाई सुरक्षाको समस्या धेरै नै हुँदो रहेछ । त्यसैले हामीले गेडाको बिक्री कारोबारको रकमको एक प्रतिशत दस्तुर गाउँपालिकाले लिने र सूचीकृत किसानलाई स्थानीय प्रशासनको सहयोगमा बुद्धचित्त टिप्दा या ओसारपसारका क्रममा आवश्यक सुरक्षा प्रदान गर्ने निर्णय गरेका हौं, लामाले समयवद्धसँग भने ।

रोशी गाउँपालिकाको शिखर अम्बोटे, सिपाली चिलाउने, महादेवटार र सिसाखानी गाविसमा बढी मात्रामा बुद्धचित्तको खेती हुँदै आएको छ । शिखर अम्बोटे र सिसाखानी क्षेत्रमा बुद्धचित्तको सिजनमा उत्पादक किसान बढी असुरक्षित हुँदै आएका छन् । यसै कारण अघिल्ला वर्षहरुमा शिखर अम्बोटेबाट हेलिकप्टरमै बुद्धचित्तको गेडा काठमाडौं लगिएको थियो ।

आठौं शताब्दीको आशीर्वाद !

उता, बुद्धचित्तको उदगमथलो मानिने तेमाल गाउँपालिकाले पनि रोशीकै अनुसरण गर्दै किसान र बोटको सूचीकरण गर्न थालेको छ । गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वाद स्वरुप तेमाल क्षेत्रका बासिन्दालाई बुद्धचित्तको बिरुवा दिएको किंवदन्ती रहेको छ । तेमालमा समाहित साविकका सस्र्यूंखर्क, ठूलो पर्सेल, पोखरी नारायणस्थान, बोल्देफेदिचे, कुरुवास चापाखोरी र मेच्छेगाउँ गाविसमा बढी मात्रामा बुद्धचित्तको खेती हुँदै आएको पत्रकार हिरामान लामाले जानकारी दिए ।

तेमाल गाउँपालिकाले प्रति किलो बुद्धचित्त गेडाको एक सय रुपैयाँ शुल्क लिने निर्णय गरेको छ । गाउँपालिकाभरिबाट करिब ६ हजार किलो गेडा निकासी हुने अनुमान गरेका छ । त्यस्तै, नमोबुद्ध नगरपालिका अन्तर्गत साविकका कानपुर र डराउनेपोखरी गाविसमा समेत बुद्धचित्तको व्यापक उत्पादन हुने गरेको भएपनि नगरपालिकाले रोशी र तेमाल झैं किसान तथा बोट सूचीकरण गर्ने नीति भने नलिएको थाहा लागेको छ ।

फल्यो सुनको अण्डा !

काभ्रेका किसानका लागि सुनको अण्डा सावित भएको बोधिचित्त चैततिरबाट फल्न थाल्ने र असारमा पाकिसक्छ । बोट र फलाइ अनुसार केही हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी हुने बुद्धचित्तका गेडा बोटबाटै चोरी हुने डरले असारको पहिलो सातादेखि नै बोटमुनि किसानले बिस्तरा नै लगाउने गरेका छन् । उता, किसानसँग हचुवामा मोल छिनेका व्यापारीहरुले दैनिक एक हजारदेखि १५ सयसम्म ज्याला दिएर बोट कुर्नसमेत लगाउने गरेको पछिल्लो घटनाक्रमले पुष्टि गरिरहेको छ ।

यतिमात्र नभई बोटमा फल लाग्नु अगावै व्यापारीले बोटधनी किसानलाई केही रकम पेश्की दिने गरेका छन् । पछि गएर निर्णय परिवर्तन गर्लान् वा अरुलाई बेच्लान भन्ने त्रासमा दाना नटिपिन्जेलसम्मका लागि उनका परिवारसमेत काठमाडौंमा लगेर व्यापारीले नै पाल्ने गरेको थाहा लागेको छ । किसानले न्यून मूल्य पाए पनि बिचौलियाबाट मूल्य बढ्दै जाँदा बोधिचित्तको लाखौं रुपैयाँसम्म पुग्ने गरेको सिन्धुलीको फिक्लमा लुटिएको घटना पकरणले पुष्टि गर्दछ ।

बढ्दैछन् चिनियाँ व्यापारी !

सात आठ वर्ष अघिसम्म बुद्धचित्तबारे कमैले थाहा पाएका थिए । किसान र व्यापारीबाहेक अरुलाई चासो हुन्न थियो । नेपालमा चिनियाँ पर्यटक आउने क्रमसँगै मालाको प्रचारप्रसार व्यापक हुन थालेपछि चीनबाटै थोक क्रेताहरु आउन थालेका छन् ।

त्यसपछि केही हजार रुपैयाँमा बिक्ने बुद्धचित्त माला लाखौं रुपैयाँसम्म पुग्न थाल्यो । त्यसपछि बोटबाटै र ओसारपसारका क्रममा लुटपाटको शृंखला बढेको स्थानीय बताउँछन् । ‘कमाइका कारण बोधिचित्त जति आकर्षक छ, बेच्नलाई त्यति नै झन्झट । किनकि आफ्नै बारीमा फलेको भए पनि वन कार्यालयको पुर्जी नभई हुन्न । गुण्डा र लुटेराबाट जोगाउनै मुस्किल थियो । अब त गाउँपालिकाले समेत कर लिन थालेको छ, तेमालका एक किसानले बताए ।

यसको दाना र माला विगतमा काठमाडौंको बौद्ध, भारतको बोधगया र चीनसम्म पुग्दै आएको थियो । मालाको मुख्य बजार भनेको बौद्ध हो, त्यहाँ बेच्न नसके तेमालका किसानले भारतको बोधगयासम्म लगेर बेच्छन् । तर, पछिल्लो समय थाइल्यान्ड, हङकङ, सिंगापुर, कोरिया, जापान, अमेरिका, भुटान, मलेसिया, बर्मालगायतका बौद्धमार्गी रहेका मुलुकमा समेत माला जान थालेको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट