Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

मोदीको युक्रेन भ्रमणको अन्तर्य : एसियाली शताब्दीको कोशेढुंगा ?


गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटेको केही हप्तापछि मोदीले जेलेन्स्कीलाई भेटे ।

यो भ्रमण आफैँमा महत्वपूर्ण हुन पुग्यो । यसो हुनुमा युक्रेनसहित पश्चिमी युरोपका कतिपय देशहरूबाट मोदीले गरेको रुस भ्रमणप्रति तीव्र आलोचनात्मक प्रतिक्रिया सार्वजनिक गरेका थिए ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले विशेषगरी कटु आलोचना गरेका थिए । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देशको नेताले मस्कोमा संसारको रक्तपातपूर्ण हिंसा मच्चाउने अपराधीलाई अँगालो हालेको देखेर आफू निराश भएको भनी मोदी पुटिन भेटवार्ताबारे जेलेन्स्कीले टिप्पणी गरेका थिए ।

पश्चिमी युरोपका देश तथा जेलेन्स्कीले गरेको टिप्पणी लगत्तैको केही हप्तापछि किभ भ्रमण गरी जेलेन्स्कीसँगको भेटबारे विश्वका राजनीतिक कूटनीतिकहरूले फरक खालको अड्कल गरिरहेका छन् ।

भारतले दुई प्रतिस्पर्धी राष्ट्र वा समूहबीचको सम्बन्धलाई सन्तुलनमा राखेको देखिनु आफैँमा अचम्मको कुरा होइन । भूराजनीतिमा भारत असंलग्न आन्दोलनको दशकौँंसम्म पक्षपाती रहँदै आएको छ । पछिल्लो समय भारतको भूमिका असंलग्न आन्दोलनमा कमजोर देखिए पनि अझ पनि असंलग्नको अगुवा देशहरूमा भारत रहेकोले गत शुक्रबारको युक्रेन भ्रमणलाई महत्वपूर्ण मानिएको छ । भारतले रुससँग बलियो सम्बन्ध कायम राख्दै पश्चिमासँग मिलेर काम गर्ने संकेत मोदीको यो भ्रमणले दिएको छ ।

वासिङटनको विल्सन सेन्टरका विज्ञहरूले यो यात्राले भारतको रणनीतिक स्वायत्ततालाई थप प्रस्ट पारेको बताएका छन् ।

भारतले पश्चिमी शक्तिहरू वा यस विषयमा अन्य कसैलाई खुसी पार्ने काममा रहेको देखिँदैन् । यो किभसँगको मित्रतालाई पुनः जोड दिएर जारी युद्धको बारेमा आफ्नो चिन्ता व्यक्त गरी भारतीय हित प्रवद्र्धन गर्न गरिएको यात्राका रुपमा उनीहरूले लिएका छन् ।

अर्कोतर्फ भारतले युद्धमा रुसको सिधै आलोचना गर्नबाट आफूलाई जोगाएर भूमिका खेलिरहेकाले धेरैजसो पश्चिमी शक्तिहरू क्रोधित भइरहेको देखिन्छ ।

पुटिनलाई मस्कोमा भेट्दा मोदीले यस्तै सन्तुलन कायम गर्ने कार्य गरेको देखिए । तर पनि, भारतले प्रायः क्षेत्रीय अखण्डता र राष्ट्रहरूको सार्वभौमसत्ताको सम्मान गर्ने महत्वलाई उठाउँदै आएको छ । यसले युद्ध अन्त्य गर्न कूटनीति र संवादलाई निरन्तरता दिएको छ ।

जुलाईमा मोदीले मस्को भ्रमणमा रहेका बेला युक्रेनमा कम्तीमा ४१ जनाको ज्यान गएको थियो । जसमा किभको एक बाल अस्पताल पनि परेपछि यसको विश्वव्यापी आलोचना भएको थियो ।

भारतीय प्रधानमन्त्रीले बालबालिकाको मृत्यु पीडादायी र डरलाग्दो भएको बताए पनि यसमा रुसलाई दोष दिन नचाहेको देखियो ।
विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता भारतले हालैका वर्षहरूमा आफ्नो रक्षा आयात पोर्टफोलियोलाई विविधीकरण गरेको छ । घरेलु उत्पादन पनि बढाएको छ । तर, अझै पनि उसले आफ्नो रक्षा उपकरणको ५० प्रतिशतभन्दा बढी रुसबाट खरिद गर्ने गरेको छ ।

भारतले पनि रुसबाट आफ्नो तेल आयात बढाएको छ । मस्कोले प्रस्ताव गरेको सस्तो मूल्यको फाइदा उठाउँदै भारतले गत वर्ष रुसबाट सर्वाधिक शीर्ष तेल किनेको थियो । रुस सबैभन्दा ठूूलो आपूर्तिकर्ता बनेको थियो ।

अमेरिका र उसका सहयोगीहरूले भारतलाई युद्धमा स्पष्ट अडान लिन बारम्बार आग्रह गर्दै आएका छन् तर उनीहरूले भारतमाथि कडा प्रतिबन्ध वा दबाब लागू गर्नबाट पनि बच्दै आएका छन् ।

पश्चिमा देशहरूले भारतको बढ्दो आर्थिक हैसियतलाई अनदेखा गर्न चाहिरहेका छैनन् । भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो । व्यापारको लागि बढ्दो बजार पनि भारत हो ।

भारतले रुससँगको सम्बन्ध विस्तार गरेको भए पनि यति धेरै निहुरिन सकेकोले युक्रेनसँगको सम्बन्धमा भूमिका खेल्न गाह्रो महसुस गर्छ । पश्चिमाहरूले भारतलाई आलोचना गरे पनि रुस र युक्रेनबीचको सम्बन्धमा भूमिका खेलेको हेर्न चाहेको छ ।

भारत पश्चिमाहरूमा विशेषगरी अमेरिकासँग आफ्नो सम्बन्ध विस्तार गर्न चाहन्छ । भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले हालै भारतसँगको सम्बन्धलाई सामान्य रूपमा लिन नहुने बताएका थिए ।

भारतलाई पनि पश्चिमाहरूको आवश्यकता छ । यो आवश्यकता उसलाई चीनसँगको प्रतिस्पर्धा र सुरक्षा खतराको सन्दर्भमा छ । साथै चीन भारतको एसियाली प्रतिद्वन्द्वी पनि हो । साथै चीनले रुससँग र रुसले चीनसँग बनाएको घनिष्ठ सम्बन्ध पनि भारतका लागि पश्चिमाहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न आवश्यक छ ।

भारतले लामो समयदेखि रुसलाई आवश्यक पर्दा चीनलाई दबाब दिन सक्ने शक्तिको रूपमा लिँदै आएको छ । यो सम्बन्धलाई सामान्य रूपमा लिन नहुने पनि विज्ञहरूको बुझाइ छ ।

धेरै मिडिया विश्लेषक तथा टिप्पणीकारहरूले रुस र पश्चिमा देशहरू दुवैसँग भारतको घनिष्ठ सम्बन्ध रहेको छ । यसले भारतका प्रधानमन्त्री मोदीले युक्रेनको भ्रमणबाट यसक्षेत्रमा शान्ति निर्माताको भूमिका खेलेर भारतको महत्व बढाउन खोजेको दर्शाएको उनीहरूले बताइरहेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले रुसमा मोदीले गरेको भ्रमणको कटु आलोचना गरे पनि भारतीय प्रधानमन्त्रीको मोदीको स्वागत गर्न कञ्जुस्याइँ गरेको नपाइएबाट पनि मोदीको यो भ्रमण महत्वपूर्ण रहेको छ । आआफ्ना अडानका बीच जेलेन्स्की र मोदीको भेटवार्ता भयो ।

भूराजनीतिमा दिल्लीले आफ्नो असंलग्न नीतिलाई दोहो¥याउँदै रुस युक्रेनबीचको युद्धमा मध्यस्थकर्ताको भूमिकाबाट सफलता पाउन खोजेको छ ।

भारतले विगत दशकमा युरोपसँग विशेषगरी मध्य र पूर्वी युरोपका अल्पसंख्यक क्षेत्रहरूसँग संलग्नता बढाउँदै आएको छ ।
भारतले ठूला चार देशहरू – बेलायत, इटाली, जर्मनी र फ्रान्ससँग आफ्नो सम्बन्ध सुदृढ गर्न चाहन्छ । यसो गरिरहँदा भारतले युरोपका अन्य देशहरूसँग पनि संलग्नता बढाउन चाहेको छ ।

चीनले मध्यपूर्वका देशहरूमा अकस्मात गरेको मध्यस्थताबाट विश्व राजनीतिक मञ्चमा बेग्लै खालको प्रतिष्ठा कायम गर्ने सफलता पाइसकेको छ । भारतको सम्बन्ध युरोपेली देशहरूसँग बढ्दै गएको र रुससँगको पुरानो सम्बन्धका आधारमा शान्तिका लागि कुनै सफलता हासिल गर्न सकेमा उसलाई पनि चीनसँगको प्रतिस्पर्धामा एक पहल हासिल हुने विश्लेषकहरूको रहेको छ ।

कूटनीतिका आफ्ना विशेषप्रकारका पहलहरू हुने गर्छन् । यो एकदिनको विषय पनि हुँदैन् । यसका लागि लामो प्रयासहरू गरिएका हुन्छन् । अवसर आएको बेला आफ्नो हित अनुकूल मौका छोप्ने गरिन्छ ।

चीनले मध्यपूर्वमा खाडी देशहरूबीचको द्वन्द्वलाई शान्तिमा परिवर्तन गराउने दृष्टान्त सबैका अगाडि रहेको छ । अमेरिकासँग नजिक भएका देशहरूबीचको द्वन्द्वलाई चीनले समाधान गर्ने बाटो पहिल्याइ मध्यस्थताको भूमिका खेलेको थियो ।

रुस र युक्रेनबीचको सम्बन्धमा भारतको मध्यस्थताको भूमिकाका लागि उसको असंलग्न आन्दोलनको लामो अभ्यास, अमेरिकासँग बढेको नयाँ रक्षा सम्बन्ध र युरोपसँगको सम्बन्धले महत्वपूर्ण आधार तयार गरेको कतिपय विश्लेषकहरूको रहेको छ ।

रुस, चीन र उत्तर कोरियाबीचको सम्बन्ध पछिल्लो समय नजिकएको देखियो । त्यतिमात्रै होइन सात दशक पुरानो कट्टर शत्रुता सम्बन्ध कायम रहेको अमेरिकाको सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेला उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको थियो ।

देशका कूटनीतिज्ञहरूले यस्तै सम्बन्धहरूको विकास गरिरहेका हुन्छन । नभए युद्धरत दुई देशको तेस्रो देशको सरकार प्रमुखले केही हप्ताभित्र भ्रमण गर्नु पछाडिको उद्देश्य नितान्त आफ्नो फाइदाको ख्याल गरी भ्रमण गर्नु हुने भनाइ सही देखिँदैन् ।

भारतका प्रधानमन्त्री मोदीले रुस र युक्रेनको केही हप्ताभित्रै भ्रमण गरी फर्किनु भारत मात्रैको फाइदा लिन गरिएको भन्न नसकिने स्थिति छ । त्यो पनि मोदी निकट मानिएको बंगलादेशको प्रधानमन्त्री शेख हसिनाको सत्ता पतन भएर हसिनालाई आश्रय दिएर गरिएको यो भ्रमण आफैमा महत्वपूर्ण छ ।

अर्कोतर्फ पाकिस्तान र भारतबीचको पुरानो शत्रुतालाई परिवर्तन गर्न पनि खाडीका देशहरूले प्रयास गरिरहेका छन् । विश्वको अमेरिकी हैकमको बैठानको खोजी गरिएको छ । यस्तोमा भारतबाट रुस र युक्रेनबीचको शान्तिका लागि भित्रभित्र गरिएको पहललाई अन्यथा भन्न सकिँदैन् ।

अहिले एक अर्काका शत्रु र मित्रहरू एकआपसमा सम्बन्धहरूबाट बाँधिएको सहजै देखिन्छ । यस्तो परिदृश्यमा एसियाली शक्तिहरूको उचित सन्तुलनको साथ उदयको प्रयासमा भारतको भूमिका भइरहेको हो कि भन्ने बुझाइ रहेको छ । किनभने राजनीतिक कूटनीतिक पण्डितहरूले आगामी शताब्दी एसियाको शताब्दी हुने प्रक्षेपण यसअघि गरिसकेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट