पाँचथरमा द्वन्द्वकालकै बम विस्फोट भएको हो : गृहमन्त्री
काठमाडौं । पाँचथरमा हिजो दुई जना बालबालिकाको ज्यान जाने गरी भएको विस्फोट सशस्त्र द्वन्द्वकालको बमका कारण भएको पाइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
गृह मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले माओवादी कार्यकर्ता आइतराज केरुङको घर नजिकै अर्को पनि बम भेटिएको र त्यो बम पुरानो भएकाले द्वन्द्वकालीन नै भएको बताएका हुन् ।
‘पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको प्रहरीको ब्रिफिङ छ ।यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको देखियो’, उनले भने ।
विस्फोटमा आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा घाइते भएका थिए भने दिलीप साँवाका ११ वर्षीय छोरा र अढाई वर्षीया छोरीको अस्पताल लैजाने क्रममा निधन भएको थियो । घाइते बालकका अनुसार आइतराज केरुङको घर नजिकैको अम्रिसो घारीमा भेटिएको वस्तु फुटाउन खोज्दा विस्फोट भएको हो ।
घटनाको सूचना पाएपछि नेपाली सेनाले विस्फोटक पदार्थ निष्क्रिय पार्न एउटा विशेष टोली फालेलुङ गाउँपालिकामा रहेको डाँडागाउँमा पठाएको थियो । सेनाको टोलीले अम्रिसो घारीमा खोजी गर्दा अर्को पनि विस्फोटक वस्तु भेटेर निष्क्रिय पारेको बताएको छ ।
१० वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भएको पाँच वर्षपछि २०६८ सालमा नेपाललाई ल्यान्डमाइनमुक्त घोषणा गरिएको थियो । तर त्यसपछि पनि द्वन्द्वकालमा राखिएका विस्फोटक पदार्थहरू फेला पर्ने र विस्फोटनसमेत हुने घटना भइरहेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया