मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णयहरू
काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भदौ १३ गते, बिहीबारका मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेश्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, मन्त्रीपरिषदको बैठकले एनसेलको नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरेर भुक्तानी गर्ने सुविधा दिने निर्णय गरेको छ । यससँगै, एकै पटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको किस्ता भुक्तानी गर्दा बाँकी किस्ताबापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले व्याज र किस्ता रकमसमेत लिने निर्णय सरकारले गरेको छ ।
यसैगरी, मन्त्रि परिषदको बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित सांसद विन्दबासिनी कंसाकारको उपचारमा खर्च भएको रकम मध्ये फैसला बमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा सोधभर्ना गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
मन्त्री परिषदको बैठकले चलचित्र विकास बोर्डको रिक्त अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसका साथै, उक्त बैठकले तराई मधेश फास्ट ट्रयाक सडक आयोजनाको लाग अधिग्रहण गर्न बाँकी जग्गामा मुआव्जामा लाग्ने पूजीगत लाभकर छुट दिन स्वीकृति दिने निर्णय गरेको छ ।
यसैगरी, प्रवक्ता गुरूङले संखुवासभाको खाँदवारी नगरमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने गरी स्थान तोक्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया