Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

रुसी राष्ट्रपति पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य देश मङ्गोलियाको भ्रमण गर्दै


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य देश मङ्गोलियाको भ्रमण गर्ने भएका छन् ।

नेदरल्यान्ड्सको हेगमा रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । आईसीसीका सदस्य देशहरूले आफ्नो देशमा आएका दोषीलाई पक्राउ गर्नुपर्ने बाध्यकारी नियम छ । तर पुटिन भने भोलि मङ्गोलियाको भ्रमणमा जान लागेका र पक्राउको कुनै सम्भावना नरहेको कतारी सञ्चारमाध्यम अलजजीराले जनाएको छ ।

युक्रेनमा आक्रमण गरेर सयौं मानिसको हत्या र पूर्वाधारमा आक्रमण गरेको आरोपमा गएको वर्षको मार्चमा आईसीसीले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि पुटिन पहिलो पटक आईसीसीका सदस्य देशको भ्रमणमा जान लागेका हुन् ।

रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको बारेमा कुनै चिन्ता नभएको बताएका रुसी समाचार संस्था तासले जनाएको छ । मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखको निमन्त्रणामा भ्रमण हुन लागेको हो । ‘हामी मङ्गोलियाका साथीहरूसँग अद्भुत संवाद गर्छौं’, पेस्कोभले भनेका छन् । तर पुटिन युद्ध अपराधी हुन् भन्नेमा मङ्गोलिया सचेत रहेको र पक्राउ पर्नेमा आशावादी रहेको युक्रेनी विदेश मन्त्रालयले जनाएको छ ।

पक्राउ पूर्जी जारी भएदेखि पुटिनले अहिलेसम्म आईसीसी सदस्य देशहरुमा यात्रा गरेका छैनन् । गएको वर्ष दक्षिण अफ्रिकामा भएको जी सेभेन सम्मेलनमा भाग लिने तयारी गरे पनि दक्षिण अफ्रिकाले पक्राउ गर्नुपर्ने बाध्यताबाट बच्न पुटिनलाई सम्मेलनमा नआइदिन आग्रह गरेको थियो । बारम्बारको आग्रहपछि पुटिन जी सेभेन सम्मेलनमा गएका थिएनन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट