Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

इजरायलमा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोध


इजरायलमा भएको आमहडतालका कारण व्यापार व्यवसाय, विद्यालय, बैंक तथा यातायात सेवा प्रभावित भएको छ । मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोधहरू भएका बीबीसीले जनाएको छ ।

गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुविरुद्ध प्रदर्शन चर्किएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री नेतान्याहुलाई दोष दिँदै युद्धको अन्त्य गरी हमाससँगको सम्झौतामा बन्धकहरूलाई जीवित फिर्ता गर्न सकिने बताएका छन् ।

पछिल्लो प्रदर्शन युद्ध शुरू भएपछिको सबैभन्दा ठूलो प्रदर्शन रहेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री नेतान्याहु हमाससँग युद्धविरामभन्दा भन्दा पनि आफ्नो पद जोगाउन लागिपरेको प्रदर्शनकारीहरूको आरोप छ । हडतालमा राजनीतिक विभाजन पनि देखिएको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अस्ति शनिवार इजरायली सेनाले गाजाको रफाह शहरको भूमिगत सुरुङमा ६ जनाको शव फेला पारेको थियो । सेनाले आफूहरू पुग्नुभन्दा केही समय अगाडि हमासले इजरायली नागरिकको हत्या गरेको जनाएको छ । हमासले भने इजरायली आक्रमणमै उनीहरू मारिएको दाबी गरेको छ ।

हमासले अक्टोबर ७ मा गरेको आक्रमणपछि दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । ९७ जना अझै पनि हमासको कब्जामा छन् । तीमध्ये कम्तीमा २७ जनाको ज्यान गइसकेको अनुमान छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट