Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण दियो


स्पेनले भेनेजुयलाका राष्ट्रपतीय उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई राजनीतिक शरण दिएको छ । भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहेका भेनेजुएलाका विपक्षी नेता उरुटियालाई स्पेनले आज राजनीतिक शरण दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई २८ मा भएको राष्ट्रपतीय चुनावपछि उत्पन्न तनावबीच उरुटियालाई सरकारले पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता उनी लुकेर बसेका थिए। स्पेनी दूतावासमा पुगेका उरुटिया स्पेनी हवाई सेनाको विमानमार्फत स्पेन पुगेका हुन् । स्पेनी दूतावासमा राष्ट्रपति मदुरोका चार जना प्रतिस्पर्धीले शरण लिइरहेका छन् ।

चुनावमा सरकारले ‘नेशनल इलेक्टोरल काउन्सिल’ (सीएनई) लाई नियन्त्रणमा लिएर निकोलस मदुरोलाई निर्वाचित भएको घोषणा गरेको थियो । गएको जुलाईमा भएको राष्ट्रपतीय चुनावपछि भेनेजुलयामा राजनीतिक सङ्कट बढेको छ । विपक्षी दलले राष्ट्रपतिमा उरुटिया विजयी भएको र त्यसको आफूहरूसँग प्रमाण रहेको बताउँदै आएका छन् । अमेरिका, युरोपेली सङ्घ र कतिपय ल्याटिन अमेरिकी देशले विस्तृत विवरण सार्वजनिक नगरिएको चुनावको नतिजा अस्वीकार गर्दै आएका छन् ।

मदुरो नेतृत्वको सरकारले चुनावयता मात्रै दुई हजार चार सय जनालाई पक्राउ गरिसकेको बीबीसीले जनाएको छ । स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट