Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

एक अधिनायकवादी नेता पेरुका पूर्व राष्ट्रपति फुजिमोरीको निधन


काडमाडौं । पेरुका पूर्व राष्ट्रपति अल्बर्टाे फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९९० देखि सन् २००० सम्म एक दशक बढी पेरुमा लगातार शासन गरेका फुजिमोरीको कार्यकाल चरम विवादास्पद बनेको थियो ।

मानवअधिकार हनन् र भ्रष्टाचारको आरोपमा २५ वर्षको जेल सजाय सुनाइएका उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए ।

जापानी मूलका फुजिमोरीले आर्थिक सुधार र शान्ति स्थापनाको नाममा कठोर कदमहरू चालेका थिए । केहीले भने पेरुमा संचालित माओवादी सशस्त्र युद्ध दबाउन सफल रहेकोमा उनका प्रशंसा पनि गर्ने गरेका छन् ।

पृष्ठभूमि र उदय

फुजिमोरीको उदय पेरुको १९८० को दशकको आर्थिक र राजनीतिक संकटको समयमा भयो । देश उच्च मुद्रास्फीति, बेरोजगारी रहेको थियो । यसै पृष्ठभूमिमा माओवादी विद्रोह जनतामा झाँगिंदै गइरहेको थियो । गोञ्जालोको नेतृत्वमा ‘शाइनिङ पाथ’(सेंडेरो लुमिनोसो) नामक माओवादी विद्रोही समूहले देशमा प्रभाव जमाइरहेको थियो । यसै बीचमा, फुजिमोरीले आफ्नो ‘क्याम्बियो ९०’ नामक राजनीतिक पार्टीमार्फत १९९० को चुनावमा भाग लिए र अप्रत्याशित रूपमा विजय प्राप्त गरे । उनको विजय मुख्यतः विरोधी उम्मेदवार मारियो वर्गास ल्योसाको आर्थिक नीतिहरूको विरोधमा थियो ।

आर्थिक सुधार

फुजिमोरीको शासनको प्रमुख विशेषता आर्थिक सुधार थियो । उनले नवउदारवादी नीतिहरू अपनाउँदै मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन कडा उपायहरू लागू गरे । सार्वजनिक क्षेत्रको खर्च कटौती, सरकारी स्वामित्वमा रहेका उद्योगहरूको निजीकरण र विदेशी लगानीकर्ताहरूका लागि आकर्षक नीति लागू गरिएका थिए । यी उपायहरूबाट प्रारम्भिक रूपमा अर्थतन्त्र सुधार भएको थियो र मुद्रास्फीति कम भयो । यद्यपि यी सुधारले धेरै पेरुवासीले रोजगारी गुमाउनु प¥यो र गरिबीको दर बढायो, जसले गर्दा फुजिमोरीको शासनप्रति जनताको असन्तुष्टि बढ्दै गयो ।

क्रान्तिकारीहरुप्रति दमननीति

फुजिमोरीले पेरुमा बढ्दै गएको जनताको असन्तुष्टिलाई कडा दमनको माध्यमबाट हल गर्ने नीति अपनाए । विशेषगरी, शाइनिङ पाथ र मुभिमिएन्टो रिभोलुसियोनारियो तुपाक अमारु ९ःच्त्ब्० जस्ता विद्रोही समूहहरूलाई दमन गर्न उनले सेना र गुप्तचर सेवाहरूलाई व्यापक अधिकार दिए । १९९२ मा शाइनिङ पाथका नेता गोञ्जालोलाई पक्राउ गरी आन्दोलनलाई कमजोर बनाउन ठूलो ‘सफलता’ उनलाई प्राप्त भयो । तर यस क्रममा मानव अधिकार उल्लघंनका गम्भीर घटनाहरू भए । शंका लागेका विद्रोहीहरूलाई गैरन्यायिक रूपमा हत्या, यातना, र बेपत्ता बनाइएको थियो । यस्ता कदमले फुजिमोरीको आलोचना देशभित्र र बाहिर पनि गरियो । यद्यपि उनले भने देशमा स्थायित्व र ‘शान्ति’ ल्याएको दाबी गरे ।

पतन र निर्वासन

फुजिमोरीको शासनको अन्त्य घोटालाहरूको कारण भयो । २००० मा, उनका गुप्तचर प्रमुख व्लादिमिरो मोंतेसिनोसको भ्रष्टाचार प्रकरण सार्वजनिक भयो, जसले उनको शासनको विश्वसनीयता गुमायो । फुजिमोरी त्यसबेला जापानमा सरकारी भ्रमणमा थिए, जहाँ उनले त्यहीबाट राजीनामा दिएका थिए । पछि उनले जापानमा शरण लिए ।

२००५ मा, फुजिमोरीलाई चिलीमा पक्राउ गरी पेरु फर्काइएको थियो । उनलाई २००९ मा मानव अधिकार उल्लङ्घन र भ्रष्टाचारको अभियोगमा दोषी ठहराइएको थियो । उनलाई २५ वर्षको जेल सजाय सुनाइयो । अन्ततः उनको जेलजीवनकै क्रममा मृत्यु भएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट