लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा भारी वर्षा
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी बर्षा भएको छ । पछिल्लो ६ घण्टामा डढेलधुराको साहुखर्कमा ९६ मिलिमिटर, कैलालीको बचिलामा ८१ मिलिमिटर र दाङको सुखबारेमा ७१ दशमलव ८ मिलिमिटर पानी परेको छ ।
डोटी, सुर्खेत, अछाम, बैतडी, कञ्चनपुर, बर्दिया लगायतका ठाउँमा पनि पानी परेको छ । बर्दियाको बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा बस्नेहरुलाई बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै कञ्चनपुरको दोदा (मछेली) नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा बस्नेहरुलाई पनि बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।
दाङको पधमपुर, सुखबारे, गङगडी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना भएकाले त्यो क्षेत्र भई बहने बबई नदी, राप्ती नदी र अन्य स–साना खोलाहरुमा आकस्मिक बाढीको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कैलालीको कैलालीको कान्द्रा नदी, पहलमानपुर र खुटिया खोला मुडीभर जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा बस्नेहरुलाई बिहान ९ बजेसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ दार्चुला र आसपासका ठाउँहरुमा आज दिनभरजसो नै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया