माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदन अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । नेकपा एमालेका सांसद योगेश भट्टराईको ‘हिंसा’ भन्ने अभिव्यक्ति माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष छ ।
गत भदौ १२ गते बसेको प्रतिनिधि सभा बैठकमा सांसद भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर व्याख्या गरेका थिए । सो विषयमा माओवादी केन्द्रले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले छानबिन गर्न सचिवालयलाई निर्देशन दिएका थिए ।
छानबिनपछि भदौ २६ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले संसदको रेकर्डबाट यो शब्द हटाउनु नपर्ने निर्णय सुनाएका थिए । सभामुख घिमिरेले सो शब्द रेकर्डबाट नहटाउने निर्णय सुनाएपछि माओवादीले सांसद बैठक अवरोध गरेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया