साम्राज्यवादी उत्पीडनबाट मुक्ति पाउन वाम शक्तिहरु एक ठाउँमा आउन जरुरी: महासचिव गुरुङ्ग

भोपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्गले नेपाली जनताले १० बर्षे जनयुद्व र सात दशकदेखि गरेको संघर्षबाट सामान्तवादबाट मुक्ति प्राप्त गरे पनि विश्व साम्राज्यवादको उत्पीडनबाट मुक्ति पाउन बाँकी रहेको बताउनु भएको छ ।
नेपाली जनताको पूर्ण मुक्तिको निम्ति नेपालका वाम शक्तिहरु एकताबद्व भएर सडक, सदन र सरकारबाट निरन्तर पहल जारी राख्नु पर्नेमा महासचिव गुरुङ्गको जोड दिनुभयो ।
भदौ २९ गते अखिल भारत नेपाली एकता मन्चको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङ्गले विश्व साम्राज्यवाद आफ्नै प्रतिगामी चरित्रका कारण पतनको दिशामा जाँदै गरेको उल्लेख गर्नुभएको छ । अमेरिकी साम्राज्यवादले विश्वमा आफ्नो प्रभुत्वलाई स्वीकार गर्न नचाहने र समाजवादको यात्रामा लागिरहेका मुलुकहरुका विरुद्व युद्व आतंक थोपरिरहेको पनि कार्यक्रममा प्रष्ट पार्नुभयो ।
युक्रेन र मध्यपुर्वमा थोपरिएको युद्वपछि साम्राज्यवाद एशियामा आफ्नो प्रभुत्व विस्तार गर्ने रणनीतिमा लागेको पनि उहाँले प्रष्ट पार्नुभयो । नेपाल लगायत दक्षिण एशियामा विश्व साम्राज्यवादले युद्वको केन्द्र बनाउँदै लगेकोप्रति महासचिव गुरुङ्गले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
नेपालको स्वाधिनताको रक्षाको लागि सम्पूर्ण वाम तथा देशभक्त शक्तिहरु एकताबद्व हुनपर्ने महासचिव गुरुङ्गको भनाई छ । प्रवासमा रहेका नेपालीहरुले यही दिशामा सहयोग र योगदान गरिदिनु हुन उहाँले आग्रह गर्नु भएको छ ।
कार्यक्रममा भारतिय वरिष्ठ पत्रकार कैलास रननियाले नेपालमा गणतन्त्र माओवादी जनयुद्वले मात्र सम्भव भएको बताएका छन् । उनले “अव नेपालकै क्रान्तिकारी कम्युनिष्टहरुले समाजवादी क्रान्तिको पहल र अगुवा गर्ने अपेक्षा राखेको” बताएका छन् ।
अर्काे वक्ता एकता समाज मुलप्रवाहका लाल बहादुर खडकाले प्रवासी नेपालीहरुलाई नेपालको आम निर्वाचनमा मतदानको अधिकारको व्यवस्था गर्न माग राखेका छन् । त्यस्तै अखिल भारत नेपाली एकता समाजका एम.बि हमालले माओवादी कम्युनिष्ट घटकहरु बीचको पार्टी एकतामा लाग्न नेता गुरुङ्गलाई सुझाएका छन् । त्यसको लागि माओवादी केन्द्रको नेतृत्वले नै विशेष पहल गर्नु पर्ने उनको जोड दियो ।
अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिको आयोजनामा आयोजित जनसभा तथा जनवादी सांस्कृतिक कार्यक्रम मञ्चका अध्यक्ष श्री राजेन्द्र शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
भोपालको न्यु मार्केट स्थित शुभाप यादव सभा भवन प्रवासी नेपालीहरुको उपस्थितिले खचाखच भरिएको थियो । जनवादी लोक कलाकार झन्कार मगर, लगायत भोपाल, दिल्ली, पन्जाव, महाराष्ट्र लगायतका विभिन्न स्थानका कालाकारहरुले जनयुद्व, राष्ट्रियता, जनवाद र समाजवाद सम्बन्धि क्रान्तिकारी सांगितिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई महासचिव देव गुरुङ्गले अविर र मालाले स्वागत गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया