Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

राष्ट्रपतिद्वारा वसन्तपुरमा आज आयोजित जात्रा अवलोकन


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्र वसन्तपुरमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । उनी नयाँ सडकको जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर गएका थिए ।

गएकाे वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थालेका हुन् । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।

इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, पालिकाका जनप्रतिनिधिलगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए । इन्द्रजात्रा अवलाेकन गर्न सर्वसाधारणकाे पनि भीड लागेकाे थियाे ।

भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरू भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । भाेलि माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

असोज ५ गते शनिवार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । त्यही दिन दिउँसाे राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नेछन्। टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।

असोज ५ गते राति १० बजेर ३१ मिनेटमा इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा शुरू भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरू गरेका थिए । काठमाडौं उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज पूजाअर्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट