Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

इन्द्रजात्रा छल्न मेयर बालेन भारत पुगे, राति फर्किए काठमाडौं


काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इन्द्रजात्राको विशेष समारोह छल्न भारतको बैंगलोर गएर जात्रा सकिएको राति काठमाडौं आएका छन् ।

अस्ति दिउँसो नेपाल वायुसेवाको उडान नम्बर आरए २२५ उता गएका उनी आज राति नेपाल वायुसेवाको उडान नम्बर आरए २२६ मा राति ९ बजे आइपुगेका हुन् ।

इन्द्रजात्राको दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अनुपस्थिति धेरैका लागि निराशाजनक र दुखदायी भएको मानिएको छ । मेयर एकाएक बैंगलोर पुग्नुको कारणबारे महानगरले औपचारिक रुपमा केही बताएको छैन । तर साहको सचिवालयले आफ्ना सहपाठीहरुको भेलामा भाग लिन मेयर उता गएको जानकारी दिएको थियो ।

इन्द्रजात्रा नेपाली पात्रोमा नै तिथि तोकेर राखिएको पर्व भएकोले मेयरको प्राथमिकता यसमा नपर्नुप्रति अहिले काठमाडौंवासीले प्रश्न उठाइरहेका छन् । मेयर बालेन इन्द्रजात्राको विशेष समारोह छल्न भारत गएको चर्चा आम मानसमा यतिबेला व्याप्त छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए ।

दशौं हजार सर्वसाधारणको उपस्थितिमा मनाइएको कार्यक्रममा मेयर उता जानुलाई सामान्य रुपमा लिन नहुने काठमाडौंका समुदायको बुझाई रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही समयदेखि मेयरको कटुता बढ्दै गइरहेको बुझ्न सकिन्छ । प्रधानमन्त्री ओली उपस्थित कार्यक्रममा मेयरले स्वागत गर्नुपर्ने भएपछि त्यसलाई छल्न साह भारत हिंडेको हो भने यो राजनीतिक संस्कारभित्र पर्दैन ।

इन्द्रजात्रा काठमाडौंको ऐतिहासिक, सांस्कृतिक, र धार्मिक पर्व हो, जसमा प्रमुख व्यक्तित्वहरूको उपस्थिति समुदायलाई अझ सशक्त र प्रेरित बनाउने विश्वास गरिन्छ । विशेष गरी, मेयरको उपस्थितिले काठमाडौंको परम्परागत सांस्कृतिक धरोहरप्रति सम्मान र संवेदनशीलता देखाउने अपेक्षा राखिन्छ ।

मेयरको भूमिकामा बालेन साहले महानगरको प्रशासनिक कार्यभार सम्हाल्नुका साथै स्थानीय समुदायका भावनालाई सम्बोधन गर्नु पनि आवश्यक ठानिन्छ । यस्ता प्रमुख चाडपर्वमा जनप्रतिनिधिहरूको सहभागिता मानिसहरूका लागि मनोबल बढाउने र महानगर र नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने माध्यम हो ।

बालेन साहलाई सामाजिक परिवर्तन र विकासको प्रतीक मान्ने धेरै युवा र समर्थकहरूका लागि उनको अनुपस्थिति निराशाजनक बनाएको छ । यस्ता अवसरमा राजनीतिक वा प्रशासनिक नेतृत्वहरू सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनु परम्परागत मान्यता रहेको छ ।

मेयर बालेनलाई मत दिएर जिताउने काठमाडौंबासीले मेयरले पर्व र संस्कृतिमाथि अपमान गरेको भनेर यतिबेला दुःख मनाऊ गरिरहेका छन् । बालेनले उपस्थित नहुनुका कारण स्पष्टिकरण दिन नसक्दा जनमानसमा भ्रम र असन्तुष्टि पैदा भएको भएको छ ।

इन्द्रजात्रा काठमाडौं वासीका लागि अत्यन्त महत्वपूर्ण सांस्कृतिक पर्व हो, जसले धार्मिक, सामाजिक, र ऐतिहासिक महत्व बोकेको छ । यो पर्व विशेष गरी नेवार समुदायमा मनाइने भए पनि सम्पूर्ण काठमाडौं उपत्यकाका मानिसहरूका लागि ठूलो चाडका रूपमा परिचित छ ।

इन्द्रजात्रा जस्ता चाडपर्वहरूमा जनप्रतिनिधिको उपस्थिति र भूमिकाले समुदायको साथ र सहयोगलाई अझ बलियो बनाउन मद्दत पु¥याउँछ, जसले महानगरको विकास र सांस्कृतिक संरक्षणमा सकारात्मक प्रभाव पार्न सक्छ ।

धार्मिक दृष्टिकोणले यो पर्व हिन्दू र बौद्ध धर्मावलम्बीहरू दुवैका लागि महत््वपूर्ण छ । हिन्दूहरूले इन्द्रलाई सम्मान गर्दै पूजा गर्दछन् भने बौद्धहरूले भगवान् अवलोकितेश्वरको रूप मान्दछन् । यो एकता र सहिष्णुताको प्रतीक पनि हो, जहाँ सबै धर्म र समुदायका मानिसहरूले एकसाथ यो पर्व मनाउँछन् ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट