धरहरा चढ्नका लागि सर्वसाधारणको भिडभाड, केहि दिनका लागि निःशुल्क

काठमाडौं । अबदेखि धरहरा अवलोकल गर्न पाइने भएको छ । संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि बिहीबारदेखि धरहरा खुला गरिएको हो ।
केही समयका लागि धरहरा निस्शुल्क चढ्न पाइने भएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो । निःशुल्क प्रवेश गर्न भने dharhara.gov.np बाट अनलाइन टिकट बुक गर्नु पर्नेछ । यद्धपी हाल यो वेबसाइट भने खुलिरहेको छैन । वेबसाइट नखुलेको अवस्थामा भने अवलोकन गर्न जानेले काउन्टरमा नै गएर टिकट लिनुपर्नेछ। यसकासाथै, वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन पनि पाइनेछ।
एक दिनमा ६०० जनासम्मले धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । त्यसमध्ये १०० कोटा वृद्ध, अशक्त, अपाङ्गता रहेकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टामा १०० जनाले धरहरा चढ्ने गरी व्यवस्था मिलाइएको छ । यससँगै, बिहीबार बिहानैदेखि धरहरा चढ्नका लागि सर्वसाधारणको भिडभाड रहेको छ ।
शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो । मन्त्रालयले शहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहराको व्यवस्थापनको जिम्मेवारी दिएको छ ।
यसअघि, २०७२को भूकम्पले क्षति पुर्याएकाले धरहरा ध्वस्त भएको थियो । यसको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षअघि नै धरहराको उद्घाटन गरेको भएतापनि धरहरा निर्माणको काम भने थप ५ प्रतिशत बाँकी नै रहेको छ।
२२ तलाको नयाँ आधुनिक धरहरा भूकम्प प्रतिरोधात्मक छ । नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा रहेको छ । साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको छ । नयाँ धरहराको मोटाइ पहिलाको धरहराभन्दा भने ठूलो छ । धरहरामा भर्याङ छन् भने दुईवटा लिफ्ट राखिएको छ । धरहरामा ३५० वटा गाडी र ६ हजार वटा मोटरसाइकल पार्किङ सकिने व्यवस्थापकको भनाइ छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया