Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

मिथिलाञ्चलमा जितिया पर्व शुरू


काठमाडौं । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’नहा खा अर्थात नुहाएर खाने विधिसहित आजदेखि शुरू भएको छ ।

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु भोलि बिहान ४ बजेदेखि दिनभरि र रातभरि तथा पर्सि बुधवार दिनभरि उपवास बस्ने तयारीमा छन् । पर्सि बुधवारकै दिन बेलुकी सवा ५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताए ।

व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी, भोलि मङ्गलवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी पर्सि बुधवार बेलुकी सवा ५ बजे व्रत सम्पन्न गर्नेछन् । व्रतालुहरुले सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट