क्रान्तिकारी विद्यार्थीको सम्मेलन : माओवादी शीर्ष नेताको परीक्षण
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन जारी छ । यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ र पार्टीभित्रको शक्ति परीक्षण पनि उजागर हुनेछ । सम्मेलनको तयारी र अध्यक्ष पदका लागि उम्मेदवारहरूको दौडले पार्टीभित्रको आन्तरिक शक्ति संरचना र भविष्यको राजनीतिक दिशा निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
असोज १० गतेदेखि काठमाडौँमा सुरु भएको यो सम्मेलन अविरल वर्षाका कारण आज असोज १२ गते स्थगित भएको छ । भोलि १३ गते विहान ११ बाट पुनः बोलाइएको छ । बन्द सत्र स्थगित भए पनि उम्मेदवारहरु मत माग्न विद्यार्थी प्रतिनिधिहरु समक्ष दौडिरहेका छन् ।
यो सम्मेलनमा अध्यक्ष पदका लागि एक दर्जन जति उम्मेदवार खडा भएका छन् । निर्वाचनमा जाने प्रक्रियाले केवल विद्यार्थीहरूको नेतृत्व मात्र चयन गर्ने छैन, माओवादी पार्टीका शीर्ष नेताहरूको शक्ति र प्रभाव पनि परीक्षण गर्नेछ । यसै कारण शीर्ष नेतृत्व पनि यसलाई निकै महत्व दिएर सक्रिय भएका छन् ।
अध्यक्ष पदका आकाङ्क्षीहरूमा नरेश रेग्मी, नारायण खनाल, पवन कार्की, इन्द्र भुसाल, अच्युत भट्ट, मदन भुल, केशव रावल, दीपेश पुन, जीपी मैनाली, प्रविणा अधिकारी र क्षितिज सापकोटा छन् । यी कुनै न कुनै शीर्ष नेतृत्व र मनोविज्ञानमा जोडिएका पात्र छन् ।
यसैले यो सम्मेलन माओवादी केन्द्रका नेतृत्वको लागि परीक्षणका रूपमा पनि लिइएको छ । अध्यक्ष प्रचण्डको रणनीति र निर्णयहरूले प्रतिनिधिहरूको मनोविज्ञान र समूहहरूको सन्तुलनमा ठूलो प्रभाव पार्नेछ । जनार्दन शर्मा र वर्षमान पुनको भूमिका विशेष ध्यान दिन योग्य छ, जसले विगतदेखि नै त्यो अभ्यास गरेका छन् । रञ्जित तामांग र पञ्चा सिंह अध्यक्ष बन्दा पार्टीका दुई नेताको मुख्य लडाई बन्यो र दुवैमा अध्यक्ष प्रचण्डको रणनीति र निर्णय विद्यार्थी अध्यक्ष बनाउन निर्णायक बन्यो ।
यसपटक वर्षमान पुनले दीपेश पुनलाई अध्यक्षमा अगाडि सारेका छन् । पूर्व उप राष्टपति नन्दकिशोर पुनका छोरा समेत रहेका वर्षमानका गृहजिल्लाका दीपेश सहकारीसहित विभिन्न आर्थिक अपचलनमा आरोपित भएकाले उनलाई बोक्दा अध्यक्ष प्रचण्डको सुशासनको नारा नै विवादित हुने भएकाले अगाडि लैजान कठिन भएको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेका विद्यार्थीका पूर्व अध्यक्ष रमेश मल्लले दीपेशको पक्षमा खुलेर प्रचार गरेका कारण अध्यक्ष प्रचण्डले पनि अन्तिममा दीपेशलाई अगाडि सार्ने संकेतका रुपमा पनि कतिपय विद्यार्थी नेताहरुले व्याख्या गरेका छन् ।
जनार्दन शर्मा निकटका थुप्रै आकांक्षी देखिन्छन । यो पक्षले नारायण खनाल अध्यक्ष र मदन भुललाई महासचिवको रुपमा अगाडि सार्न कसरत गरिरहेको छ । भुलले अध्यक्षमा नै दावी गरिरहेका छन् । जनार्दन निकटमा नारायण खनाल बलियो देखिएकाले अन्तिममा उनैलाई अगाडि सार्ने सम्भावना देखिन्छ ।
ऊर्जाशील विद्यार्थी नेता पवन कार्कीलाई अध्यक्षले सर्वसम्मत उम्मेदवारका रुपमा अगाडि सार्न केही नेताहरु अग्रसर छन् । तर, योबीचमा उनको संगठनमा समानान्तर गतिविधिका कारण अधिकांश विद्यार्थीहरुले स्वीकार्न कठिन भइरहेको छ ।
सर्वसम्मत भएमा बौद्धिक, इमान्दार छवि बनाएका नरेश रेग्मीको बलियो सम्भावना छ । उनमा सहमति हुन नसकेमा इन्द्र भुसाललाई लैजान पनि एकथरि नेताहरुबाट पहल भइरहेको छ ।
विद्यार्थीको अध्यक्षमा सकेसम्म सर्वसम्मत बनाउनु पर्छ भन्नेमा पार्टी अध्यक्षको जोड रहेको छ । वर्षमान पुनको दवाव र अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले पहल लिएर अध्यक्ष प्रचण्डले दीपेश पुनलाई विद्यार्थी अध्यक्षमा अगाडि सारेमा आफू, नरेश रेग्मी, इन्द्र भुसाल र नारायण खनालमध्ये एक जना निर्वाचन लड्ने भन्दै पवन कार्कीले आफ्ना निकटका सँग नयाँ ध्रुवीकरणका लागि पहल बढाएको बताएका छन् ।
नरेश रेग्मीले विद्यार्थी आन्दोलनको आवश्यकताको पुनः परिभाषा गर्ने कुरा गरेका छन् । उनले आजको पिढीका अपेक्षाहरूलाई ध्यानमा राखेर परम्परागत राजनीतिबाट हट्नुपर्ने आवश्यकता औल्याएका छन् ।
नारायण खनालले आफ्नो उम्मेदवारीले संगठनको संरचना र विद्यार्थीहरूको सँगठनात्मक संलग्नतामा पुनर्जागरणको आवश्यकता दर्शाउँउने बताउँछन् ।
पवन कार्कीले संगठनमा स्वार्थपूर्ण प्रवृत्तिहरूको अन्त्य गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
संगठनलाई एकताबद्ध र प्रभावकारी बनाउने दिशा प्रदान गर्नुपर्ने इन्द्र भुसालको धारणा छ ।
अध्यक्ष पदको चयनमा सहमति प्राप्त गर्न प्रयास भइरहेका त छन्, तर आकाङ्क्षीहरूको संख्या धेरै भएको कारण निर्वाचनको सम्भावना बढी रहेको दीपेश पुनको भनाइ छ ।
यस सम्मेलनमा, २,३२३ प्रतिनिधिहरू मतदान गर्नेछन् र ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ।
माओवादी निकट क्रान्तिकारी विद्यार्थी सम्मेलनले पार्टीभित्र मात्र होइन नेपालको राजनीतिक परिप्रेक्ष्यमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । नयाँ नेतृत्वको चयन र विद्यार्थी आन्दोलनको पुनर्निर्माणका लागि भएका प्रयासहरूले भविष्यमा माओवादी केन्द्रको शक्तिमा परिवर्तन ल्याउन सक्छ । यस घटनाले माओवादी पार्टीको समग्र दिशा र प्राथमिकतामा केही सुधार ल्याउन सक्छ, नेपालका युवाहरूको सामूहिक राजनीतिक सक्रियता पनि बढाउनेछ । तर, नेतृत्व कस्तो ल्याउने, आउने कुराले निश्चय नै पार्टीको गन्तब्यमा केही प्रभाव पार्ने भएकाले पार्टी नेतृत्वले आफ्नो सोंच, प्रवृत्तिलाई जिताउन आन्तरिक सक्रियता बढाएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया