Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

अविरल बर्षाको कारण देशैभरि ठूलो जनधनको क्षति, काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु


काठमाडौं । विहिबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ । काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीले आज दिउँसो १२ बजे दिएको विवरणअनुसार ललितपुरका विभिन्न स्थानमा गरी ९ जना मृत फेला परेका हुन् । जिल्लाका विभिन्न स्थानबाट अहिलेसम्म ११ जना हराइरहेको प्रहरीले जानकारी दिएको छ ।
ललितपुर प्रहरी र तालुक कार्यालयबाट उद्धारका लागि बोटसहित प्रहरी जनशक्ति ११०० जना खटाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सानेपा क्षेत्रबाट ७७ जना, नक्खु हार्माेनी कोलोनीबाट १४ जना, नख्खिबोट क्षेत्रबाट १५ जना, बुङमती क्षेत्रबाट ७५ जना, चापागाउँ क्षेत्रबाट ५५ जना, यूएन पार्कबाट १ जना, इमाडोल क्षेत्रबाट २८ जना गरी जम्मा २८१ जनाको उद्धार गरिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो ।

काठमाडौं प्रहरीका एसएसपी बसन्त रजौरेले काठमाडौंबाट पनि केही हराईरहेको र खोजी कार्य जारी रहेको बताएका छन् ।

काठमाडौं महानगर प्रमुख बालेन साहले वर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको बताएका छन्।
पछिल्लो समय निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँमा सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको उनको भनाइ छ।

उनका अनुसार ती टोली डुबान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्नरत छन्।

निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका थुप्रै स्थानहरू डुबानमा परेका छन् । देशका मुख्य राजमार्गहरू अवरूद्ध छन् भने हवाई माध्यम पनि ठप्प छ । काठमाडौं जोडिने सबै राजमार्ग अवरुद्ध बनेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका छन् ।

ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशसत्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ ।

अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुवानले ठूलो धनमालको पनि क्षति भएपनि विवरण यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै देशका विभिन्न भाग ठूलो क्षति

काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । थप एकजना मृतको भने पहिचान खुलेको छैन् ।

यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो । उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो ।

यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन् ।
धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

सिस्नेरीमा पहिरोसहितको बाढीले बगाउँदा ६ विद्यार्थी बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ ।

आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए ।

कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताए । कूल ४० विद्यार्थीमध्ये ६ जनालाई बगाएको ठकुरीको भनाइ छ ।

‘बिहानै कुलेखानी ड्यामका दुवै ढोका खोलिएको सूचना आयो’, ठकुरीले भने, ‘विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगिँदै थियो । आत्तिएर छोटो बाटोको प्रयोग गर्न उकालो चढेका उनीहरूलाई पहिरोसहित आएको बाढीले बगायो ।’

उनका अनुसार हालसम्म पनि उनीहरूको अवस्था अज्ञात छ । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट