काठमाडौं उपत्यकामा बाढी पहिरो: २१ जनाको मृत्यु, दर्जनौँ उद्धार
काठमाडौं । गएरातिदेखि शनिबार बिहानसम्म परेको भीषण वर्षाका कारण काठमाडौं उपत्यकामा बाढी पहिरोले ठुलो क्षति पु-याएको छ । हालसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको ज्यान गएको छ । साथै पाँच जना अझै बेपत्ता छन् भने नौ जना घाइते भएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार उद्धार कार्य तीव्र गतिमा भइरहेको छ, जसअनुसार ७२८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढीले काठमाडौंका चारवटा घर पूर्णरूपमा भत्काएको छ भने २६० भन्दा बढी घरमा डुबान भएको छ । ललितपुर र भक्तपुरका धेरै घरमा समेत पानी पसेको खबर प्राप्त भएको छ ।
उपत्यकामा उद्धार तथा राहत कार्यमा ४,११० भन्दा बढी प्रहरी जनशक्ति परिचालित छन् । काठमाडौंमा ३,०६०, ललितपुरमा ९३० र भक्तपुरमा १२० जनाको टोली काममा खटिएको छ । थप विपदको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंमा ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप प्रहरी परिचालन गरिएको छ।
नगर प्रहरीको टोली सक्रिय
वर्षाले सिर्जना गरेको विपदको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले नगर प्रहरीका १७ वटा टोली परिचालन गरेको छ । ३ सय जना अधिकारी र जवानले डुबान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरुद्ध भएका सडकहरूमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयास गरिरहेका छन्।
खासगरी वंशीघाट, कुशेश्वर, टेकु, कपन, शंखमुल, बसुन्धारा र न्युरोडजस्ता क्षेत्रमा उद्धार कार्य जारी छ। स्थानीयको जानकारी र हटलाइन टेलिफोनमा प्राप्त अनुरोधहरूलाई तत्काल सम्बोधन गर्ने प्रयास भइरहेको छ ।
सतर्कता र तयारी आवश्यक
प्रहरी र उद्धार निकायहरूले नागरिकहरूलाई सतर्कता अपनाउन र विपद्को समयमा सुरक्षित रहन आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाले जलजन्य विपदको जोखिम भएमा हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, आपतकालीन अवस्थाहरूमा १०२ मा फोन गरी निःशुल्क एम्बुलेन्सको सेवासमेत लिन सकिने व्यवस्था गरिएको छ ।
विपदको सामना गर्न आवश्यक सतर्कता र पूर्व तयारी अपनाउँदै नागरिकहरूले सहयोग गरिरहेको सुरक्षा निकायहरूले जनाएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया