Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

मुसलधारे वर्षाका कारण बाढी, पहिरोले देशभर जनधनको ठूलो क्षति


काठमाडौं । देशभरको विभिन्न क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् भने दर्जनौं मानिस अझै बेपत्ता छन्।

काठमाण्डौ उपत्यकामा बाढीले फसेका १,०५३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाण्डौमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, मकवानपुरमा ३, पाँचथरमा ५, सिन्धुपाल्चोकमा २, धनकुटा, सिन्धुली, झापा, र धादिङमा १-१ जनाको मृत्यु भएको छ। १२ जना बेपत्ता रहेको जानकारी प्राप्त भएको छ।

देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान, र कटानले ठूलो क्षति पुर्‍याएको छ। विभिन्न जिल्लामा बाढी पहिरोका कारण धेरै घाइते भएका छन् भने कम्तिमा १५ जना हराइरहेका छन्।

उद्धार कार्य जारी रहे पनि अत्यधिक पानी र अवरुद्ध सडक मार्गका कारण उद्धारमा कठिनाइ भएको छ। मकवानपुरमा तीन विद्यार्थीको मृत्यु मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयका तीन जना विद्यार्थी बाढीमा परेर ज्यान गुमाएका छन्। उनीहरु एन्फा एकेडेमीमा अध्ययनरत थिए र हिजो कुलेखानी जलाशयका ढोका खोलिएपछि सुरक्षित ठाउँतर्फ जाने क्रममा बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव भेटिएको छ।

एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले दिएको जानकारीअनुसार कुलेखानी जलविद्युत् आयोजनाको ढोका खोल्दा सिस्नेरी बजारका ३० घर बाढीले बगाएको छ भने खानीखेतस्थित २८ घर डुबानमा परेको छ। स्थानिय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ।

उद्धार र सहयोग कार्य जारी नेपाल प्रहरीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र रूपमा जारी राखेको छ। स्थानीय प्रशासन र उद्धार टोलीहरूले सुरक्षित स्थानमा सार्न र खाद्यान्न तथा आवासको व्यवस्थापन गर्न सक्रियता देखाइरहेका छन्। बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोगको लागि जनस्तरबाट पनि सहयोगको आव्हान गरिएको छ। सरकारले अविलम्ब राहत वितरण र पुनर्स्थापनाको योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट