नायकत्व विशेष परिस्थितिमा मात्र जन्मदैन
चणिकलाल तामाङको साहसिक कार्यले उल्लेखनीय उदाहरण प्रस्तुत गरेको छ । विपत्तिका समयमा व्यक्तिगत साहस र तत्काल पहलकदमीले कति ठूलो प्रभाव पारेकाे छ । उनी काभ्रेको तेमाल गाउँपालिका–९ का पेण्टर हुन् । दशैंको चापका कारण व्यस्त भए पनि शनिबार वर्षाले उनको काम रोकेको थियो । बाढीको त्रास हेर्न निस्केका चणिकलालले नख्खु खोलामा बगिरहेका चारजनालाई देखेपछि तत्कालै उनीहरुको उद्दारमा लागे । यो साहसिक कार्यले सामान्य मान्छेले पनि ठूलो साहसका साथ अरुको जीवन बचाउन के गर्न सक्छन् भन्ने कुरा झल्काउँछ ।
चणिकलालले बगिरहेको ठाउँबाट करिब तीन सय मिटर तल उनीहरुलाई निकाल्न सफल भए । उनले दुई जनालाई एक्लै उद्धार गरे । उद्दार गरेपछि पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए । तामाङको यो काम कुनै साधारण घटना थिएन । यस्ता घटनामा धेरैजसो मान्छे बाढीको त्रास देखेर भाग्छन । तर, चणिकलालले आफ्नो ज्यानको पर्वाह नगरी उनीहरुलाई बचाए । यो घटनाले तामाङको अदम्य साहस देखाउँछ तर यसले अरुलाई पनि यस्ता विपत्तिहरूमा सहयोग गर्न उत्प्रेरित गर्दछ ।
चणिकलाल तामाङको यो कार्यले हाम्रो समाजमा नायकत्वको परिभाषालाई पुनः परिभाषित गर्छ । उनमा कुनै विशेष तालिम वा उपकरण थिएन । उनी केवल एक सामान्य पेन्टर हुन्, जसको हिम्मतले दुईजनाको जीवन बचायो । चणिकलालको यो कार्यले देखाउँछ, हाम्रो समाजमा नायकत्व केवल विशेष परिस्थितिमा मात्र होइन, जीवनका साधारण परिस्थितिमा पनि देखापर्न सक्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया