Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

अखिल क्रान्तिकारीमा अध्यक्ष चयनमा सर्वसम्मति खोज्ने प्रयासको वर्षमान बाधक


  • रामहरि खनाल

असोज १२ गते भीषण अविरल वर्षाका कारण स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र आज बिहान ११ बजेबाट पुनः सुरू हुँदैछ । बन्दसत्र एक दिनका लागि स्थगित भए पनि भित्रभित्र अध्यक्ष चयनको लागि सर्वसम्मतिका प्रयास जारी रहेका थिए । तर, अध्यक्ष पदको उम्मेदवारीमा सहमति खोज्न कठिनाइ देखिएको छ । खासगरी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका कारण ।

वर्षमान पुनले दीपेश पुनलाई अध्यक्ष पदका लागि जसरी पनि उम्मेदवार बन्न निरन्तर उकासिरहेको बताइएको छ । यसै कारण अध्यक्ष पदमा सहमतिको प्रयासमा बाधा उत्पन्न भइरहेको छ । दीपेश पुनलाई सहकारी र सुनको अपचलनमा संलग्न भएको आरोप लाग्दै आएकाले उनलाई अगाडि सार्दा पार्टीको सुशासनको अजेण्डामा धमिरा लाग्ने मत पार्टीमै जवर्जस्त उठिरहेको छ । तर, वर्षमान पुन र पार्टी अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले दीपेशलाई उम्मेदवारी नछाड्न निरन्तर उक्साइरहेका छन् ।

अध्यक्ष पदको दौडमा रहेका अन्य उम्मेदवारहरू नरेश रेग्मी, इन्द्र भुषाल र नारायण खनालमा सहमतिको सम्भावना दखिएको छ । अर्का उम्मेदवार पवन कार्कीले संगठनमा समानान्तर गतिविधि गरेकाले उनको नाममा सहमति जुटाउन कठिनाइ भएको छ । लेखनाथ न्यौपानेपछि विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिन सक्ने क्षमतामा अब्बल मानिएका कार्कीलाई समानान्तर गतिविधि गरेकाले संगठनलाई एकीकृत बनाइरहन चुनौती उत्पन्न गर्ने सम्भावना रहेकोले उनलाई रोक्नुपर्ने भनाइ छ ।

दीपेश पुनको उम्मेदवारीलाई समर्थन गर्ने वर्षमान पुनले आफूलाई पनि सुनकाण्डमा तानिएको उल्लेख गर्दै आर्थिक विवादमा संलग्न भएको आरोप मात्रका आधारमा नेतृत्व छाड्नुपर्ने अवस्था भएमा आफू र अरूहरूले पनि त्याग गर्नुपर्ने कुरा उठाएका छन् ।

दीपेश पुनको पछाडि पार्टीका उपमहासचिव शक्ति बस्नेत र रमेश मल्ल खुलेर लागेका छन् भने राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि दीपेशको पक्षमा क्वार्टरमा बोलाएर लबिङ गरिरहेका छन् । दाहालले पार्टी र संगठनलाई आर्थिक सहयोग जुटाउन सक्षम उम्मेदवारको आवश्यकतामा जोड दिँदै दीपेशलाई अध्यक्ष पदमा समर्थन दिन विद्यार्थी नेताहरूलाई मनाउने प्रयास गरिरहेका छन् ।

अखिल क्रान्तिकारीको अध्यक्ष चयनमा सर्वसम्मतिको प्रयास भइरहे पनि पार्टी भित्रका यस्ता मतभेदले नेतृत्व चयन प्रक्रियालाई अझै अनिश्चित बनाइरहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट