गोरखाको लापुबेँसीबाट काठमाडौं हिँडेकोे बस सम्पर्कविहीन
काठमाडौं । गोरखाको लापुबेंसीबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो ।
बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । ‘बस हराएको भन्ने सूचना पाएका छौँ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,’ गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले भने, ‘हामी पनि खोजी रहेका छौँ ।’
बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।‘बसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,’ उनले भने ।
उनका अनुसार ३ जना गाडीका स्टाफ र एकजना मात्र यात्रु गाडीमा थिए । ‘धेरै यात्रु थिएनन् गोरखाबाट छुट्दा भनेका छन् । तर बीचबाटोमा चढेको हुन सक्छ,’ उनले अघि थपे, ‘केही विवरण आयो भने सार्वजनिक होला ।’ बसमा सवार केही यात्रु मुस्लिनमा पनि ओर्लिएका थिए ।
बसका मुग्लीन ओर्लिएका यात्रु सूर्य गुरुङले पनि धेरै यात्रु नभएको बताएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया