झ्याप्लेखोला गएको पहिरो पन्छाउँदै सुरक्षाकर्मी, एकै ठाउँबाट ३० वटा शव निकालियो
धादिङ । धादिङको धुनिबेशी नगरपालिका–९ झ्याप्लेखोला गएको पहिरो हिजोदेखि पन्छाउने कार्य आज पनि जारी रहेको छ । उक्त पहिरोले ज्यान गुमाएका ३० जनाको शव निकालिएको छ । एकै पहिरोमा चारवटा गाडी पुरिएको धादिङ सुरक्षा कार्यालयले पुष्टि गरेको छ । पहिरोमा पुरिएर मृत्यु भएका १३ यात्रुको शवको पहिचान खुलेको छ।
हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
झ्याप्लेखोलमा पहिरोले गाडी पुर्दा मृत्यु भएका मध्ये शनिबार रातिसम्म १४ जनाको शव फेला परेको थियो। आज थप १६ वटा शव फेला परेको हो।
गोर्खाबाट काठमाडौं आउँदै गरेको एक यात्रुवाहक वस पनि झ्याप्लेखोला पहिरोमा नै पुरिएको धादिङ प्रहरी कार्यालयले जनाएको छ । बस ११ गते वेलुकाबाट सम्पर्क विहिन रहेको गोर्खा जिल्ला प्रशासन कार्यालयले जनाएको थियो ।
फेला परेका शव मध्ये १३ वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए।
उनका अनुसार सनाखत हुनेमा स्याङजाको गल्याङ नगरपालिका–३ का सीता भट्टराई, उनका छोरा दिपेश भट्टराई र दिपिका भट्टराई छन्।
यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।
त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ।
उनीहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया