बाढी र पहिरोबाट ३ दिनमा १ सय ४८ जनाको मृत्यु, ५८ जना बेपत्ता
काठमाडौं । पछिल्लो तीन दिनमा वर्षाजन्य प्रकोपमा परेर १ सय ४८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय ४८ जनाको मृत्यु भएको छ भने ५८ जना अझै बेपत्ता छन् । यस्तै १ सय एक जना घाइते भएका छन् ।
सबैभन्दा धेरै काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्रै ४१ जनाको मृत्यु भएको छ । काठमाडौंमा १४, ललितपुरमा २२ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको उनले बताए । यसअघि सशस्त्र प्रहरीले भने काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्रै ७३ जनाको मृत्यु भएको बताएको छ । धादिङमा बस पुरिएका मृतकलाई समेत काठमाडौं उपत्यकामा गणना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै नेपाल प्रहरीका अनुसार धादिङमा ३८, काभ्रेमा २९ र मकवानपुरमा ७ जनाको मृत्यु भएको हो । यस्तै सिन्धुपाल्चोकमा ६, दोलखामा ३, सिन्धुलीमा २ र रामेछापमा १ जनाको ज्यान गएको छ यसैगरी सोलुखुम्बु र पाँचथरमा ५र५ जना, झापा र धनकुटामा २र२ जना तथा इलाम र उदयपुरमा एक÷एक जनाको मृत्यु भएको छ । महोत्तरीमा २ जना र सप्तरीमा १ जनाको मृत्यु भएको छ ।
यस्तै बाढी पहिरोमा परी ५८ जना बेपत्ता भएका छन् । सबैभन्दा धेरै काभ्रेमा २३ जना बेपत्ता छन् । यस्तै ललितपुरमा १५, काठमाडौंमा ५, सिन्धुपाल्चोकमा ६, दोलखामा ४, धादिङमा २, पाँचथरमा ५ जना तथा झापा, मोरङ र महोत्तरीमा १र१ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परेर अहिलेसम्म ३ सय ३४ वटा घर बगेका छन् । यस्तै ४ वटा पक्की पुल र २ वटा बेलिब्रिजसहित १६ वटा पुल पनि बगेका सशस्त्र प्रहरीले जनाएको छ । बाढी पहिरो प्रभावित कतिपय ठाउँमा अझै पनि सञ्चार सम्पर्क हुन नसकेकाले क्षतिको विवरण आउन नसकेको पनि प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया